काठमाडौँ, २८ असार । लैङ्गिक हिंसामा परेका महिला र बालबालिकाका लागि काम गर्ने साथी संस्थाले आइतबार आफ्नो बाल संरक्षण कार्यक्रम “साथी चिल्ड्रेन” को २५ औँ स्थापना दिवस सांस्कृतिक कार्यक्रमसहित मनाएको छ।
सन् १९९२ मा साथी संस्थाले हिंसामा परेका महिलाका लागि पहिलो आश्रयस्थल सञ्चालन गरेको थियो। महिलासँग उनका बालबच्चा पनि पीडित भएर आउन थालेपछि सन् २००१ देखि “साथी चिल्ड्रेन” कार्यक्रम सुरु गरिएको हो।
अहिले साथीले काठमाडौं, नेपालगन्ज, बारा र कञ्चनपुरमा बालक र बालिकाका लागि छुट्टाछुट्टै आवासीय सुविधा सञ्चालन गरिरहेको छ।
साथी चिल्ड्रेनका कार्यक्रम संयोजक अन्जु सिंहका अनुसार यहाँ बालबालिकाले एसइ, प्लस टु हुँदै स्नातकसम्म पढ्ने अवसर पाउँछन्। प्लम्बिङ, सिलाई, कम्प्युटर, होटेल म्यानेजमेन्ट जस्ता सिपमुलक तालिम पनि दिइन्छ।
“हामी १८ वर्ष पुगेर घर पठाउने गर्दैनौं। उसले आफ्नै खुट्टामा उभिएर आफ्नो व्यवस्था गर्न सक्ने नभएसम्म यहाँ बस्छ,” सिंहले भनिन्।
हाल २०० भन्दा बढी बालक, बालिका र किशोरकिशोरी यहाँ बस्दै पढ्दैछन्। २५ वर्षको अवधिमा करिब ४०० भन्दा बढी बालबालिकाले यहाँबाट शिक्षा र सिप लिएर बाहिर निस्किसकेका छन्।
कार्यक्रममा अनुभव सुनाउँदै राजन गहतराजले भने, “साथीले नपढाएको भए, सिप नदिएको भए म आज परिवारसहित घर बनाएर बस्न सक्दिनथें।”
विनिता सुचिकार, सोनिया श्रेष्ठ र अनिलकुमार सार्कीले पनि साथीकै कारण उच्च शिक्षा हासिल गर्न सकेको बताए।
यो सबै सम्भव भएको छ फ्रान्सका फर्मासिस्ट Jean-Michel Peny को निरन्तर सहयोगका कारण। उनले आफूले स्थापना गरेको “स्मार्ट फर्मा” कम्पनीको मुनाफा, आफ्नो परिवार र कम्पनीका कर्मचारीबाट संकलन भएको रकम प्रत्येक वर्ष साथीलाई पठाउँदै आएका छन्।
“बालबालिकाको जीवन छोटो परियोजनाले बन्दैन। लामो समय र आर्थिक निरन्तरताले मात्र उनीहरूलाई गन्तव्यमा पुर्याउन सकिन्छ। मैले एकपटक हात समातेपछि बीचमा छोड्न मिल्दैन,” Peny ले भने, “उच्च शिक्षा र सिप सिकेर सक्षम नागरिक नबनुन्जेल मेरो सहयोग जारी रहन्छ।”
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले हिंसामा परेका महिला, आमाबुवा नभएका, सडक बालबालिका र आमासँग मात्र आश्रित बालबालिकालाई सेवा दिनु संस्थाको मुख्य लक्ष्य रहेको बताइन्।
२५ औँ वार्षिकोत्सवको अवसरमा बालबालिकाहरूले गीत, नृत्य र सांगीतिक प्रस्तुति दिए। कार्यक्रममा बालबालिकाको २५ वर्षे गतिविधि समेटिएको फोटो पुस्तक पनि लोकार्पण गरियो।






