“वातावरण जोगाउने प्रण, हरियाली फर्काउने अभियान : मन्त्री थापाद्वारा १० लाख सहयोगको घोषणा”

भक्तपुर, २७ असार । राष्ट्रको लागि २ घण्टा अभियान प्रवद्र्धन केन्द्र नेपाल र नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र भक्तपुरको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं.४ को कार्यालयको समन्वय र नेप्सेम्याक भक्तपुर, नेपाल फुलबारी, स्वच्छ वातावरण समाज केन्द्र तथा रोटरी क्लब अफ चाँगुनारायण नगरपालिकाको सहकार्यमा एक बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं.४ स्थित चख्खुफाँट त्वायना टोलबाट शुभारम्भ भई घट्ट्खोला हनुमन्ते दोवानसम्मको भू-भागमा रोपिएको यस अभियानमा डिभिजन वन कार्यालय भक्तपुरबाट उपलब्ध गराइएका २५ बोट कल्की र २०० वैंशजातका गरी जम्मा २२५ बिरुवा रोपिएका थिए, जसका लागि नेप्सेम्याक भक्तपुरले आवश्यक जनश्रमदान सहित खाल्डा खन्ने कार्य, १५० किलो मल र ३ टन माटो ढुवानीको सेवा उपलब्ध गराएको थियो भने सहभागीहरूका लागि विशेष जलपान सहितको खाजा व्यवस्थापन रोटरी क्लब अफ चाँगुनारायण नगरपालिकाले गरेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्नुहुँदै राष्ट्रको लागि २ घण्टा अभियानका अध्यक्ष मधु ढुंगेलले वर्तमान समयमा वातावरण संरक्षण कुनै विकल्प नभई अस्तित्वको प्रश्नसँग जोडिएको विषय भएको बताउँदै हरेक नागरिकले आफ्नो दैनिकीबाट न्यूनतम दुई घण्टा समय समुदाय र प्रकृतिका लागि समर्पित गर्न सक्नुपर्ने र त्यसैले यो अभियानले साना-साना प्रयासहरूलाई एकीकृत गर्दै दीर्घकालीन वातावरणीय परिवर्तनको जग बसाल्ने काम गरिरहेको भन्दै स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालनका साथै वृक्षारोपणको महत्वबारे प्रकाश पार्दै अभियानका महासचिव नबराज काफ्लेले वृक्ष केवल वातावरणीय सन्तुलनको संकेत मात्र नभई आउँदो पुस्ताका लागि छाडिने सबैभन्दा मूल्यवान सम्पत्ति भएको औंल्याउँदै आजको यो सामूहिक प्रयास भोलिको हराभरा र स्वस्थ भक्तपुर निर्माणको सुरुवात बिन्दु बन्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि तथा वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री किरण थापाले आफ्नो मन्तव्यमा हरियाली गुम्दा वायु प्रदूषण बढ्ने, तापक्रम अनियन्त्रित हुने र यसले प्रत्यक्ष रूपमा नागरिकको श्वासप्रश्वास तथा हृदयसम्बन्धी स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने गम्भीर परिस्थिति सिर्जना हुने भएकाले वृक्षारोपण अब वैकल्पिक होइन, अनिवार्य कार्यभार बनिसकेको प्रस्ट पार्नुभयो । उहाँले वातावरणमैत्री र स्वस्थ भक्तपुर निर्माणका लागि स्वास्थ्य मन्त्रालयबाट रु. १० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुहुँदै यस्ता अभियानले हरियाली फर्काएरै जनस्वास्थ्य सुरक्षित गर्न सकिने दृष्टान्त स्थापित गरेकोमा विशेष सम्मान प्रकट गर्नुभएको र कार्यक्रमप्रति पूर्ण एक्येबद्धता जनाउनुभएको थियो ।

अतिथिका रूपमा उपस्थित चाँगुनारायण नगरपालिका कार्यालयको वन तथा वातावरण शाखा प्रमुख तथा वडा नं.२ का वडाअध्यक्ष सोमप्रसाद प्रधानले यसै अभियानबाट निर्देशित भई चाँगुनारायण नगरपालिकामा सञ्चालन गरिएको वातावरणमैत्री अभियानले हालसम्म १६७ हप्ता पूरा गरिसकेको र प्लाष्टिकमुक्त वडा निर्माण लगायत हरियाली प्रवद्र्धन तथा स्वच्छ चाँगुनारायण नगरपालिका निर्माणतर्फ अग्रसर रहेको उद्घोष गर्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी रोटरी क्लब अफ चाँगुनारायणका अध्यक्ष तोप श्रेष्ठले सहभागी सबैलाई जलपान व्यवस्थापन गरिएको जानकारी दिँदै अभियानको कार्यक्रमप्रति विशेष एक्येबद्धता जनाउनुभएको थियो । कार्यक्रमको समापन अभियानकी सल्लाहकार अञ्जनादेवी मधीकर्मीले धन्यवाद ज्ञापनका साथ गर्नुभएको थियो ।

कार्यक्रममा अभियानका सल्लाहकार जुना बस्नेत तथा भागीरथा सिटौंला, अभियानका पदाधिकारी एवं सक्रिय अभियन्ताहरू, युनिक बोर्डिङ स्कुल तथा कटुन्जे आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीहरू, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघर र स्थानीय टोलसुधार समितिका प्रतिनिधि लगायत स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो, जसबारे अभियानका उपाध्यक्ष नरेश रञ्जितले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २७ असार । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका

काठमाडौँ, २७ असार । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वत: खारेजी भएको जनाएको

काठमाडौँ, २७ असार । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छिन् । यसअघिका

काठमाडौँ, २७ असार । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्याहरू समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध