चाँगुनारायणमा जडिबुटी विरुवा वितरण, प्लाष्टिकको विकल्पमा कपडाको झोला

चाँगुनारायण, १६ असार । चाँगुनारायण नगरपालिका वडा नं.२ अन्तर्गत सञ्चालित “समुदायको लागि २ घण्टा” अभियानले डिभिजन बन कार्यालय भक्तपुर तथा वडाको संयुक्त आयोजनामा आज १६७ औं हप्ता पूरा गर्दै वडाभित्र जडिबुटीजन्य विरुवा तथा प्लाष्टिक विकल्पजन्य कपडाको झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं.२ स्थित दुवाकोट ब्यान्केट परिसरमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय भक्तपुरको प्राविधिक तथा भौतिक सहयोगमा एभोकाडोका दुई सय, कागतीका दुई सय, टिम्बुरका एक हजार र मेकाडेमियानटका दुई सय विरुवा वितरण गरिएको आयोजकले जनाएका छन् । साथै कार्यक्रममा सहभागी सबैलाई कपडाको झोला समेत वितरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै वडा अध्यक्ष एवं अभियानका संयोजक सोम प्रसाद प्रधानले वडालाई प्लाष्टिकमुक्त, हरियालीमय र सरसफाइयुक्त बनाउने अभियान १६७ हप्तादेखि निरन्तर चलिरहेकोमा सन्तोष व्यक्त गर्दै यसलाई निरन्तरता दिन वडावासीको साथ-सहयोग अपरिहार्य रहेको बताए । उनले वडा प्रशासनको तर्फबाट यस्ता वातावरणमैत्री कार्यक्रमलाई भविष्यमा थप संस्थागत बनाउने प्रतिबद्धता समेत जनाए ।

प्लाष्टिकमुक्त वडा निर्माण अभियानका उपाध्यक्ष एवम अभियानका सहजकर्ता नबराज काफ्लेले कार्यक्रम सञ्चालन गर्दै आजको कार्यक्रमको औचित्यमाथि प्रकाश पारे । उनले वितरण गरिएका जडिबुटीजन्य विरुवाले वातावरणीय सन्तुलनसँगै वडावासीलाई दीर्घकालमा आयआर्जनको वैकल्पिक स्रोत समेत दिने भन्दै, एकपटक प्रयोग हुने प्लाष्टिकले माटो र जनस्वास्थ्यमा पार्ने दीर्घकालीन जोखिमबारे सचेत गराए । साथै अभियानको सफलताका लागि वडाभित्रका प्रत्येक घरपरिवारको दायित्वबोध आवश्यक रहेको उनको भनाइ थियो ।

डिभिजन वन कार्यालय भक्तपुरका अधिकृत कमल थापाले कार्यक्रममा मन्तव्य राख्दै वितरित विरुवाहरूको हुर्काइ-स्याहार र दीर्घकालीन संरक्षणमा वडावासीको ध्यान आकर्षित गरे । उनले वन कार्यालयबाट यस्ता हरियाली प्रवर्द्धन कार्यक्रमहरूलाई निरन्तर प्राविधिक सहयोग पुर्‍याउँदै जाने आश्वासन दिए ।

डिभिजन बन कार्यालय भक्तपुरका अधिकृत एवम एक जिल्ला एक वडा शून्य प्लाष्टिकमुक्त निर्माण अभियानका फोकल पर्सन रुपक खत्रीले चाँगुनारायण वडा नं.२ ले चलाइरहेको यो अभियानलाई राष्ट्रिय स्तरकै शून्य प्लाष्टिक अभियानसँग जोड्दै अनुकरणीय रहेको बताए । उनले यस्तै मोडेल अन्य वडाहरूमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

वितरण गरिएका विरुवामध्ये टिम्बुर, कागती र एभोकाडो जस्ता प्रजातिहरू औषधीय तथा आर्थिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छन्। यी विरुवाले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायलाई दीर्घकालमा आयआर्जनको वैकल्पिक स्रोत समेत प्रदान गर्ने विज्ञहरूको भनाइ छ। हरितक्षेत्र विस्तारका लागि यस्ता विरुवाको वितरण दिगो विकासको एक महत्वपूर्ण कडीका रूपमा हेरिन्छ।
एकपटक प्रयोग हुने प्लाष्टिकले माटो, जलस्रोत र जनस्वास्थ्यमा पार्ने दीर्घकालीन असरका कारण यसको विकल्प खोज्नु आजको आवश्यकता बनेको छ। यसै सन्दर्भमा वडाले वितरण गरेको कपडाको झोलाले प्लाष्टिकजन्य झोलाको प्रयोग घटाउन र वडावासीमा वातावरणमैत्री बानीको विकास गर्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

जनप्रतिनिधिहरू उमेश प्रधान, प्रेम खत्री, सीता मिजार, पूर्वजनप्रतिनिधि मोहन प्रसाद पौडेल लगायत वडाभित्रका सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र वडावासीहरूको उत्साहजनक सहभागिता कार्यक्रममा रहेको थियो ।

यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि वडावासीहरूको सक्रिय सहभागिता र दायित्वबोध अपरिहार्य रहेको आयोजकहरूले औंल्याएका छन् । आयोजित कार्यक्रमप्रति वडावासीहरूले आयोजकलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

नबराज काफ्ले

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून