एजेन्सी, २१ असार । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।
भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हर्दिपसिंह पुरीले ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताएका छन् ।
विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान द्वन्द्वका क्रममा ‘स्टे«ट अफ होर्मुज’मा लगाइएका प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो । अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ ।
मन्त्री पुरीका अनुसार भारतले हालसम्म अन्वेषण नगरिएका करिब दुई लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ ।
भारतको तेल मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२५÷२६ मा स्वदेशी कच्चा तेल उत्पादन दुई करोड ५९ लाख ८० हजार मेट्रिकटन रहेको थियो । यो उत्पादनले भारतको कुल कच्चा तेल आवश्यकताको करिब १० प्रतिशत मात्र पूरा गर्छ ।
ऊर्जा आपूर्तिको विविधिकरणका लागि भारतले कच्चा तेल आयात गर्ने देशको सङ्ख्या २७ बाट बढाएर ४१ पु¥याएको छ । यस क्रममा इरान, भेनेजुएला, रुस तथा विभिन्न अफ्रिकी मुलुकबाट पनि आयात बढाइएको छ ।
रुसी तेल खरिदका विषयमा अमेरिका र युरोपबाट आलोचना भए पनि मन्त्री पुरीले भारतले वैचारिक दृष्टिकोणभन्दा आफ्ना ऊर्जा आवश्यकतालाई प्राथमिकता दिएको बताएका छन् ।







