काठमाडौँ, ११ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ ।
सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो । सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ ।
‘उहाँको बारेमा अनुसन्धान चलिरहेको छ, अनुसन्धान अधिकारीहरूले पासपोर्ट रोक्काको लागि पत्राचार गरेका हुन्,’ विभागसम्बद्ध स्रोतले भन्यो, ‘अनुसन्धान चलिरहेका बेला कतै विदेश जान नपाउन भन्ने उद्देश्यले पासपोर्ट रोक्का गरिएको हो ।’





