काठमाडौँ, ९ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता नरहेको विषयलाई जोडेर मिडिया ट्रायल गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल सम्पत्ति छानबिनका क्रममा अनुसन्धानका लागि पक्राउ परेपछि अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम समेत जोडिएर आएका समाचारप्रति उनले आपत्ति जनाएका हुन् । पूर्वअर्थमन्त्री शर्माले आफू सधैँ सम्पत्ति छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै सरोकार नै नभएको विषयमा आफ्नो नाम मुछेर भ्रम फैलाउन खोजिएको बताएका छन् ।
“साथीहरू, सम्पत्ति छानबिन गर्नुपर्छ भनेर मैले सदन र पार्टीमा पनि विषय उठाएको हुँ। त्यसमा म अहिले पनि अडिग छु,” शर्माले भनेका छन्, “तर, सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु।”





