काठमाडौँ, ८ असार । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो । बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतलाई अदर्श मान्ने खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए ।
खरेलको निधनप्रति नेपाली कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गरेका छन् । पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेल राजेन्द्रका छोरा हुन् । उनलाई पितृशोक परेको छ ।
खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । अन्तिम संस्कार दिउॅसो १ बजे पशुपतिमा गरिने पारिवारिस स्रोतले जनाएको छ ।






