चितवन, ६ असार । रत्ननगर नगरपालिका–१४ पिठुवामा कोरियन लगानीको कम्पनी एसवाई प्यानलद्वारा करिब ६० करोड रुपैयाँको लागतमा दुई नयाँ उद्योगको शिलान्यास गरिएको छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ बुले संयुक्त रूपमा एसवाई युपिभिसी तथा एसवाई कस्मेटिक उद्योगको शिलान्यास गरेका हुन् । कम्पनीले यसअघि नै आईपिओमार्फत पुँजी सङ्कलन गरिसकेको छ, जसको उपयोग गरी नयाँ उद्योग सञ्चालनमा ल्याइने कार्यकारी प्रमुख होङले जानकारी दिए।
युपिभिसी उद्योगबाट झ्याल, ढोका तथा पार्टेसनसम्बन्धी ६ प्रकारका सामग्री उत्पादन गरिनेछ भने कस्मेटिक उद्योगबाट १८ प्रकारका सौन्दर्य सामग्री उत्पादन गरी बजारमा आपूर्ति गरिनेछ । दुवै उद्योगको निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।





