एजेन्सी, ४ असार । अमेरिका र इरानले आफ्नो युद्ध अन्त्य गर्ने सम्झौताको अन्तरिम पाठ बुधबार सार्वजनिक गरेका छन् ।
अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियान दुवैले यस समझदारी पत्र (एमओयू) मा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।
अमेरिका र इरानीबीच अन्तरिम शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर भने आज स्वीजरल्याडमा हुदैछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार सम्झौताका प्रमुख ६ बुँदाहरू यस्ता छन्–
१. लेबनानसहित सबै मोर्चामा तत्काल युद्ध अन्त्य गरिने ।
२. हर्मुज जलडमरूमध्ये (स्ट्रेट अफ होर्मुज) मा समुद्री आवतजावत पूर्णरूपमा सुचारु गरिने ।
३. इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी हटाइने ।
४. अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू फुकुवा गर्ने र रोक्का गरिएका सम्पत्तिहरू खुला गर्ने ।
५. इरानको आर्थिक पुनर्स्थापनाका लागि ३०० अर्ब अमेरिकी डलरको योजना लागू गर्ने ।
६. इरानले परमाणु हतियार निर्माण नगर्ने आफ्नो दशकौँ पुरानो प्रतिबद्धतालाई पुन: दोहोर्याउने ।
यी सम्झौताले गत अप्रिल महिनामा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याएको छ, ताकि दुवै पक्षले स्थायी शान्ति सम्झौताका लागि वार्ता गर्न सकून् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे पुन: आक्रमण सुरु गर्ने चेतावनी दिएका छन् ।
फ्रान्समा आयोजना भइरहेको जी–७ शिखर सम्मेलनमा सहभागी ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘यदि उनीहरूले सम्झौता उल्लंघन गरे, हामी उनीहरूमाथि भयानक बमबारी गर्नेछौँ । म त्यसो होस् भन्ने चाहन्नँ, म उनीहरूले सम्झौताको सम्मान गरुन् भन्ने चाहन्छु ।’
उनले इरानीहरूलाई ‘स्मार्ट मानिस’ भन्दै आगामी ६० दिनभित्र स्थायी युद्धविरामका लागि दुवै देशका वार्ताकारहरूले काम गरिरहेको जानकारी दिए ।






