काठमाडौँ, ३१ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताउनुभएको छ ।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उहाँले बताउनुभयो ।
“पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ,” अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस् । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।”
देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी/व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताउनुभयो ।
करको दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उहाँले बताउनुभयो । यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उहाँले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो। बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उहाँको भनाइ छ ।






