काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले अनुसन्धान तथा विकास (Research and Development) लाई राष्ट्रको समृद्धि, प्रतिस्पर्धात्मक क्षमता र दीर्घकालीन विकासको आधारशिला भएको बताउनुभएको छ ।
नेपाल फिलोसोफिकल रिसर्च सेन्टर (NPRC) द्वारा आयोजित दोस्रो राष्ट्रिय बहुविषयक अनुसन्धान सम्मेलनमा बोल्दै उहाँले विश्व तीव्र गतिमा कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, क्वान्टम कम्प्युटिङ, डिजिटल रूपान्तरण तथा उदीयमान प्रविधितर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि आवश्यक कानुन, नीति, पूर्वाधार र दक्ष जनशक्ति विकासमा तत्काल लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले NPRC जस्ता संस्थाहरूले नेपालमा अनुसन्धान संस्कृतिको विकास, अनुसन्धानकर्ताहरूको सञ्जाल निर्माण तथा ज्ञान उत्पादनको वातावरण तयार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
डा. पराजुलीले भन्नुभयो, “अनुसन्धान र विकास राष्ट्रको अक्सिजन हो, यसबिना दिगो विकास सम्भव छैन । अनुसन्धान र विकास कुनै विलासिता होइन, यो राष्ट्रको आवश्यकता हो । अनुसन्धानविना समृद्धि सम्भव छैन । R&D नै राष्ट्रको अक्सिजन हो, जसले अर्थतन्त्र, शिक्षा, प्रविधि, उद्योग र समग्र विकासलाई जीवन प्रदान गर्दछ । नेपाल फिलोसोफिकल रिसर्च सेन्टरले केवल अनुसन्धान सम्मेलन आयोजना गरेको मात्र होइन, अनुसन्धानलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने ऐतिहासिक काम गरिरहेको छ। यस्तो प्रयासले नेपाललाई अनुसन्धानमुखी राष्ट्र बनाउने आधार तयार गर्दछ ।”

डा. पराजुली विश्वका विकसित राष्ट्रहरूको सफलताको आधार अनुसन्धान, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्र भएको उल्लेख गर्नुभयो । नेपालले पनि अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राखेर विश्वविद्यालय, उद्योग, सरकार तथा निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले प्रतिभा पलायन रोक्न अनुसन्धान तथा नवप्रवर्तनमै आधारित अवसर सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले नेपालले आगामी दशकलाई ‘अनुसन्धान तथा नवप्रवर्तन दशक’का रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै अनुसन्धानलाई राष्ट्र निर्माण, सुशासन, प्रविधि विकास तथा आर्थिक समृद्धिको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा युवा वैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकलाई नेपालमै भविष्य देखाउने सबैभन्दा प्रभावकारी माध्यम अनुसन्धान र नवप्रवर्तनको वातावरण निर्माण गर्नु हो । अनुसन्धानमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो । विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अनुसन्धानले मात्र नेपाललाई विश्व अनुसन्धान तथा विकास सूचकाङ्कमा माथि उठाउन सक्छ। नेपालका युवालाई स्वदेशमै अवसर र भविष्यको आशा दिन अनुसन्धान र नवप्रवर्तनमै लगानी गर्नुपर्छ । दार्शनिक अनुसन्धान (Philosophical Research) ले राष्ट्रलाई केवल ज्ञान मात्र होइन, सही दिशा, दृष्टिकोण र दीर्घकालीन विकासको मार्ग पनि प्रदान गर्दछ ।”

सम्मेलनले नेपालमा अनुसन्धान, नवप्रवर्तन र ज्ञानमा आधारित विकासको नयाँ युग प्रारम्भ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । उक्त घोषणापत्रमा नेपालमा आवश्यक अनुसन्धान, अनुसन्धानको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण, अनुसन्धानमैत्री वातावरण विकास तथा ज्ञानमा आधारित समाज निर्माणका लागि आवश्यक नीतिगत व्यवस्थाबारे स्पष्ट मार्गदर्शन गरिएको थियो ।
सम्मेलनमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधि (पोष्ट डक्टोरेट) सम्पन्न गरेका ५० भन्दा बढी अनुसन्धानकर्ताहरूको सहभागिता रहेको थियो । सम्मेलनमा चार वर्षअघि मकवानपुरको चित्लाङमा सम्पन्न प्राज्ञिक अनुसन्धानदाताहरूको भेलाबाट जारी गरिएको ‘चित्लाङ घोषणापत्र’को पुनरावलोकन समेत गरिएको थियो ।






