एजेन्सी, १८ जेठ । चिनियाँ मिसाइलद्वारा अमेरिकी लडाकु विमान खसालेको अमेरिकाले दाबी गरेको छ ।
पश्चिम एसियामा जारी तनावबीच गत महिना इरानको दक्षिण–पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ लडाकु विमानलाई सम्भवतः चीनमा निर्मित मिसाइलले निशाना बनाएको दाबी गरिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो दाबीले अमेरिका, चीन र इरानबीचको सम्बन्धमा नयाँ तरंग पैदा गरेको बताइएको छ । यद्यपि, चीनले यी आरोपहरूलाई अस्वीकार गर्दै यसलाई आधारहीन रूपमा बदनाम गर्ने प्रयास भनेको छ ।
एनबीसी न्युजका अनुसार, अमेरिकी एफ–१५ई स्ट्राइक इगल विमानलाई काँधमा राखेर प्रहार गरिने मिसाइलद्वारा खसालिएको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार विगत केही दशकयता पहिलोपटक शत्रुपक्षको गोलाबारीका कारण अमेरिकी लडाकु विमान खसेको हो ।
विमानमा सवार दुवै अमेरिकी सैनिक सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए । पाइलटको सात घण्टाभित्र उद्धार गरिएको थियो । अर्का अधिकारीलाई दुई दिनपछि पहाडी क्षेत्रबाट सुरक्षित रूपमा निकालिएको थियो ।
अमेरिकी स्रोतहरूको दाबीअनुसार इरानले सम्भवतः चीनमा निर्मित मिसाइल प्रयोग गरेको थियो । यसबाहेक, चीनले इरानलाई स्टिल्थ विमानहरूलाई समेत पत्ता लगाउन सक्ने लामो दूरीको राडार प्रणाली उपलब्ध गराएको हुन सक्ने आरोप पनि लगाइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त राडार प्रणालीले सामान्यतया राडारको पहुँचबाट बच्न सफल हुने विमानहरूलाई समेत पहिचान गर्न सक्छ । यद्यपि, यी सैन्य उपकरणहरू हालै उपलब्ध गराइएका हुन् वा इरानको पुरानो हतियार भण्डारकै हिस्सा थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानलाई काँधबाट प्रहार गरिने मिसाइलले निशाना बनाएको यसअघि नै बताइसकेका छन् ।
ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङले चीनले इरानलाई हतियार आपूर्ति नगरेको भन्दै आफूलाई आश्वस्त पारेको दाबी गरेका छन् ।
चिनियाँ दूतावासले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । चिनियाँ पक्षले सैन्य सामग्रीको निर्यातसम्बन्धी चीनले कडा नियमहरूको पालना गर्ने जनाएको छ । एनडीटीभी






