४ दिने प्राथमिक उपचार तालिम सम्पन्न

भक्तपुर, १७ जेठ । “आपतकालमा एउटा तालिमप्राप्त हात हजार औषधिभन्दा बढी काम गर्छ”-यही भावनालाई मूर्त रूप दिँदै नेपाल रेडक्रस सोसाईटी, दुवाकोट उपशाखाले चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित त्रिपुरासुन्दरी मन्दिर सामुदायिक भवनमा ४ दिने आधारभुत प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । तालिममा २३ जना सक्षम प्राथमिक उपचारक समाजलाई समर्पण गरेको छ । जेष्ठ १३ गतेदेखि १६ गतेसम्म सञ्चालित यस तालिम कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. २ भित्रका विभिन्न विद्यालयका शिक्षक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए ।

समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा भक्तपुरका सभापति प्रशुराम पाण्डेले तालिमको महत्त्वलाई रेखांकित गर्दै भने, “प्राथमिक उपचारको ज्ञान भनेको केवल प्रमाणपत्र होइन-यो एउटा जिम्मेवारी हो जुन हामीले समाजप्रति निर्वाह गर्नुपर्छ ।” उनले दुवाकोट उपशाखाको यस पहललाई अनुकरणीय बताउँदै भविष्यमा थप तालिम सञ्चालन गर्न जिल्ला शाखाको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

विशेष अतिथि तथा जिल्ला शाखाका मन्त्री धर्मराज कार्कीले भने, “दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिँदैन। तर त्यस क्षणमा हाम्रो समुदायमा एउटा तालिम प्राप्त व्यक्ति उपस्थित छ भने धेरै जीवन बच्न सक्छन् ।”

त्यस्तै विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष सोम प्रसाद प्रधानले यस तालिम कार्यक्रमलाई वडावासीका लागि अत्यन्त उपयोगी बताउँदै सामुदायिक स्तरमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न स्थानीय सरकारको सहयोग सदैव रहने आश्वासन दिए । अध्यक्ष प्रधानका अनुसार यस तालिमले वडा नं. २ मा एउटा सुदृढ स्वयंसेवी नेटवर्क निर्माण गर्ने आधार तयार पारेको छ, जुन भविष्यमा कुनै पनि प्राकृतिक प्रकोप वा दुर्घटनाको अवस्थामा अमूल्य सिद्ध हुनेछ ।

नेपाल रेडक्रस सोसाइटी,चाँगुनारायण नगरपालिका शाखा तदर्थ समितिकी संयोजक मन्दिरा कार्कीले प्रशिक्षार्थीहरूलाई स्वयंसेवी भावनाका साथ समाज सेवामा निरन्तर लाग्न प्रेरणा दिइन् भने उपशाखाका सल्लाहकार नबराज काफ्लेले रेडक्रसको मानवीय सेवाको दर्शन र दुवाकोट उपशाखाको यात्राबारे प्रकाश पारे ।

त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव संरक्षण समितिका अध्यक्ष विदुर आलेले यस्ता कार्यक्रमले समुदायलाई थप सुरक्षित बनाउने विश्वास व्यक्त गरे । त्रिपुरासुन्दरी भद्राक्षीदेवी मातेश्वर महादेव संरक्षण समितिका अध्यक्ष विदुर आलेले यस्ता कार्यक्रमले समुदायलाई थप सुरक्षित बनाउने विश्वास व्यक्त गरे ।

तालिमका क्रममा प्राथमिक उपचारका आधारभुत सिद्धान्त, दुर्घटना तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने उपायहरू, घाइतेको सुरक्षित व्यवस्थापन, रक्तस्राव नियन्त्रण, हाडजोर्नी सम्बन्धी चोटपटकको प्राथमिक उपचार, सिपिआर (CPR) तथा जीवन रक्षाका अन्य महत्त्वपूर्ण सीपहरू समेटिएको दुवाकोट उपशाखाका उत्तम श्रेष्ठले जानकारी गराए ।

कार्यक्रमकी कार्यवाहक सभापति प्रमिला प्रधानले तालिममा उत्तीर्ण सबै २३ प्रशिक्षार्थीहरूलाई स्वयंसेवकका रूपमा परिचालित हुन हार्दिक आग्रह गरिन्। “तालिम सकिएको छैन — यो त सेवाको सुरुवात हो,” उनले भनिन् ।

तालिममा उत्तीर्ण प्रशिक्षार्थीहरूले पनि आफूले आर्जन गरेको ज्ञान र सीपलाई केवल आफैंमा सीमित नराखी परिवार, समुदाय र समाजको सेवामा उपयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे । तालिमलाई नेपाल रेडक्रस सोसाईटी,जिल्ला शाखा भक्तपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् ।