काठमाडौँ, १५ जेठ । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियाको भियना सहरमा हुने ‘एराज टुर’ कन्सर्टमा आक्रमण गर्ने योजना बनाएको आरोपमा २१ वर्षीय अष्ट्रियन युवकलाई १५ वर्ष जेल सजाय सुनाइएको छ ।
अस्ट्रियाको गोपनीयता कानुनअनुसार बेरेन ए नामले चिनिने ती युवकलाई आतंकवादसम्बन्धी विभिन्न अन्य कसुरमा पनि दोषी ठहर गरिएको हो ।
सन् २०२४ अगस्टमा भियनाको अन्स्र्ट ह्यापल रङ्गशालामा हुने टेलर स्विफ्टका लगातार तीनवटा ‘सोल्ड–आउट’ कन्सर्ट सुरु हुनुअघि अमेरिकी गुप्तचर संस्था सीआईएबाट प्राप्त सूचनापछि उनलाई पक्राउ गरिएको थियो ।
त्यसपछि करिब २ लाख दर्शक सहभागी हुने सबै कार्यक्रम तत्काल रद्द गरिएको थियो । अभियोजनकर्ताका अनुसार बेरेन ए इस्लामिक स्टेट (आईएस) समूहबाट प्रभावित भएका थिए र उनले अवैध रूपमा मेशिनगन तथा ह्यान्ड ग्रिनेड खरिद गर्ने प्रयास गरेका थिए, यद्यपि त्यसमा सफल भएका थिएनन् । अदालतका मनोचिकित्सक पिटर होफम्यानले अभियुक्तमा कुनै मानसिक रोगको लक्षण नदेखिएको र उनको कट्टरपन्थी बन्नुको मनोवैज्ञानिक कारण नभेटिएको बताएका छन् ।
यस मुद्दामा स्लोभाकियाका अर्का २१ वर्षीय युवक अर्दा केलाई पनि आइएस सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा १२ वर्ष जेल सजाय सुनाइएको छ । तर उनी टेलर स्विफ्ट कन्सर्टमाथिको आक्रमण योजनामा प्रत्यक्ष संलग्न नभएको अदालतले जनाएको छ ।
यस घटनापछि स्विफ्टले उक्त षड्यन्त्रले आफूलाई नयाँ प्रकारको डर महसुस गराएको बताएकी थिइन् । आफूले जीवन नभएर कन्सर्ट मात्रै गुमाएको भन्दै उनले अधिकारीहरूलाई धन्यवाद भनेकी थिइन् ।






