दक्षिणी लेबनानका ठुला भूभाग खाली गर्न इजरायलको आदेश

एजेन्सी, १४ जेठ । इजरायली सेनाले दक्षिणी लेबनानका विशाल क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषणा गर्दै त्यहाँका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले जहरानी नदीभन्दा उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गर्दै हिजबुल्लाहविरुद्ध ‘अझ सशक्त सँग’ कारबाही गरिने चेतावनी दिएको हो ।

गत अप्रिल १७ मा लागू भएको युद्धविरामपछि यो सबैभन्दा ठुलो विस्थापन आदेश मानिएको छ । यस दक्षिणी क्षेत्रले लेबनानको करिब १४ प्रतिशत भूभागलाई समेटेको बताइएको छ । इजरायलले हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने हिजबुल्लाहले उल्टै इजरायलमाथि नै युद्धविराम तोडेको आरोप लगाएको छ ।

बुधबार इजरायली सेनाले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । त्यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ले दक्षिणी लेबनानमा जारी स्थल कारबाही थप विस्तार गरिने घोषणा गरेका थिए । उनले उत्तरी इजरायलका नागरिक तथा सीमावर्ती क्षेत्रमा रहेका इजरायली सैनिकमाथि हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि सैन्य अभियान तीव्र पारिएको बताएका छन् ।

आईडीएफले पछिल्लो २४ घण्टामा नौवटा अलग–अलग खाली गर्ने चेतावनी जारी गरेको छ । यसले इजरायल–लेबनान सीमामा ठुलो सैन्य तनाव र पुनः व्यापक विस्थापनको खतरा बढाएको छ । तायर सहरका बासिन्दाले आक्रमणको त्रासबीच आफ्ना घर छाड्न थालेका छन् । स्थानीय बासिन्दा रिदाले बीबीसीसँग कुरा गर्दै ‘सबै जना डराएका छन्, मानिसहरूले सामान प्याक गरिरहेका छन्,’ भनेका छन् ।

जहरानी नदीको दक्षिण क्षेत्रमा पर्ने करिब ३०० गाउँ तथा सहर प्रभावित भएका छन् । तीमध्ये धेरै मानिस यसअघि नै दक्षिणी लेबनानका अन्य भागबाट विस्थापित भइसकेका थिए । राहतकर्मीहरूका अनुसार राजधानी बेरुतको दक्षिणमा रहेको सिडोन सहरले थप विस्थापितलाई धान्न नसक्ने अवस्था पुगेको छ । उनीहरूले सर्वसाधारणलाई पूर्वी क्षेत्रमा पर्ने बेका उपत्यका र माउन्ट लेबनानतर्फ जान आग्रह गरेका छन् ।

लेबनानी सञ्चारमाध्यमका अनुसार बुधबार दक्षिणी क्षेत्र र पूर्वी बेका उपत्यकामा पनि इजरायली हवाई आक्रमण भएका छन् । चौकिन र नाबाटियेह क्षेत्रमा कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको

काठमाडौँ, १४ जेठ । सुर्खेतमा टिपरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति

काठमाडौँ, १४ जेठ । सर्लाहीको कौडेना गाउँपालिकामा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कौडेना गाउँपालिका-१ लक्ष्मीपुर बस्ने

काठमाडौँ, १४ जेठ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते