काठमाडौँ, १२ जेठ । विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरेको छ ।
आज कन्सुलर सेवा विभागद्वारा विकसित उक्त एप आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । एपको औपचारिक शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए।
मन्त्रालयका अनुसार एप सञ्चालनमा आएपछि विदेशमा अप्ठ्यारोमा परेका वा उद्धारको पर्खाइमा रहेका नेपाली नागरिकहरूले सिधै कन्सुलर सेवा विभाग वा विदेशस्थित नेपाली नियोगमा आफ्ना गुनासा दर्ता गराउन सक्नेछन्।
यस प्रणालीले कन्सुलर सेवा प्रवाहलाई थप चुस्त, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास मन्त्रालयले लिएको छ ।






