काठमाडौँ, १२ जेठ । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले प्रतिबन्ध लगाएको छ ।
अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीका आधारमा सोमबार साँझ महासंघले रणवीरविरुद्ध यो कदम चालेको हो । रणवीरले आफ्नो पछिल्लो चलचित्र ‘धुरन्धर’ को व्यावसायिक सफलतापछि अचानक प्रतीक्षित चलचित्र ‘डन ३’ बाट बाहिरिने निर्णय लिएका थिए ।
चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेपछि रणवीरले धोका दिँदा निर्माण पक्षलाई ४५ करोड भारु नोक्सान भएको भन्दै फरहानले महासंघमा उजुरी दिएका थिए । महासंघका अध्यक्ष वीएन तिवारीका अनुसार यस विषयमा कुराकानी गर्न रणवीरलाई अप्रिल २२, अप्रिल ३० र मे १३ गरी तीनपटक रिमाइन्डर पठाइएको थियो तर उनले कुनै सकारात्मक प्रतिक्रिया दिएनन्। उल्टै रणवीरले यो विवाद सम्झौताको सर्तसँग जोडिएकाले महासंघ यसका लागि सही मञ्च नभएको र कानुनी उपचार खोज्नुपर्ने जवाफ पठाएका थिए ।
त्यसपछि महासंघले रणवीरविरुद्ध असहयोगको निर्देश जारी गरेको हो । फरहान अख्तरले सन् २०२३ मा रणवीरको साथमा ‘डन ३’ को घोषणा गरेका थिए। सन् २००६ को ‘डन’ र २०११ को ‘डन २’ पछि यो फ्रेन्चाइजको तेस्रो चलचित्र बन्ने तयारीमा थियो ।
सुरुमा कियारा आडवाणीलाई अनुबन्ध गरिए पनि गर्भावस्थाका कारण उनले छाडेपछि कृति सेननलाई लिने चर्चा थियो। फरहानले यसै चलचित्रका लागि आफ्नो अर्को प्रोजेक्ट ‘जी ले जरा’ समेत स्थगित गरेका थिए ।
चलचित्र ढिलाइ भएपछि रणवीर ‘धुरन्धर’ मा व्यस्त भएका थिए। सन् २०२५ बाट यसको छायांकन सुरु हुने भनिए पनि रणवीरले अचानक चलचित्र छाडिदिए । निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको र गालीगलौज तथा हिंसात्मक दृश्य राख्न दबाब दिएको आरोप लगाएको छ ।
प्रतिबन्धका कारण रणवीरको अभिनय रहने ‘किङ’ (विशेष भूमिका), निर्देशक आदित्य धरको आगामी चलचित्र, कियारा आडवाणीसँगको नयाँ प्रोजेक्ट र संजय लीला भन्सालीको ‘बैजु बावरा’ को छायांकन प्रभावित हुने देखिएको छ ।






