भक्तपुर, ११ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्रको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ४ को वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा वडाको विकास र समृद्धि, समस्या, समाधानाको उपाय तथा गुनासोहरुलाई समेटिएर सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । जसमा वडाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सामाजिक संस्थाका नेतृत्व तथा स्थानीयवासी गरी करिव छ दर्जन जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीयवासीले आफुले दैनिक जीवनमा भोग्नु परेका समस्या तथा राम्रो पक्षहरुको खुलेर आफ्नो धारणा राखेका थिए । त्यसपश्चात जनप्रतिनिधि तथा सम्बन्धित निकायले वर्तमान समय तथा परिस्थितीको मूल्याङ्कन गर्दै वडाको विगत, वर्तमान र भविष्यको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रममा वडा सचिव हरिगोपाल गैडाले वडाले गरेका प्रशासनीक कार्यहरुको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार वडामा चाल आर्थिक वर्षमा विभिन्न शिर्षकमा एक करोड २४ लाख २८ हजार तीन सय ३७ रुपैंया राजश्व संकलन भएको छ । त्यस्तै चालु आवमा दुई करोड १० लाख रुपैया वडामा बजेट विनियोजन भएको उल्लेख गर्दै उहाँले एक करोड ६० लाखको बजेट स्वीकृत भई कार्य भइरहेको छ । त्यस्तै बाँकी जेष्ठ नागरिकको लागि आठ लाख, कार्यालय सञ्चालन रु १० लाख तथा खेलकुदमा पाँच लाख छुट्याइएको छ । त्यस्तै ५३ लाख ६५ हजार नौ सय ७८ रुपैया सामाजिक सुरक्षाभक्ता वितरण गरिएको छ ।
चारवर्षमा वडामा नगरपालिकाबाट २८ करोड, प्रदेश सरकारबाट ३० करोड तथा संघीय सरकारबाट ९ करोड रकम बराबरको बजेट प्राप्त भई वडा क्षेत्र अन्तरगतका सडक, शिक्षा, खानेपानी, ढल, स्वास्थ्यलगायतका क्षेत्रहरुको व्यापक विकास र विस्तार गरिएको वडाध्यक्ष रोजबहादुर तामाङले जानकारी दिनुभयो । ‘सडक, निर्माण, कालोपत्रे, शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक, युवा, महिला, बालबालिका, खानेपानी, यातायातलगायतका क्षेत्रहरुमा हामीले स्वाथनीयवासीको माग, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै जनताको सेवामा समर्पित भएको छौं ।’ उहाँले भन्नुभयो, ‘तर पनि कतिपय आयोजनामा ठेगदारका कारण, पछिल्लो समय अत्याधिक मूल्यवृद्धि स्मार्ट सिटी, अव्यवस्थित प्लानिङ, बालुवा उत्खनन्, झण्झटीलो कानुनी प्रकृयालगायतका कारण जनअपेक्षा र हाम्रो योजना अनुरुप अपेक्षित रुपमा कार्यसम्पादन गर्न कठिनाइ भइरहेको छ ।’

वडाध्यक्ष तामाङको ४ वर्ष प्रगति विवरण पश्चात सहभागी स्थानीय तथा सरोकारवासीहरुले आफुले देखेका र भागेका समस्या तथा सुझावहरु प्रस्तुत गरेका थिए । स्थानीय केशव खनालले वर्खायामसँगै वालुवा खानी तथा अव्यवस्थित प्लानिङ गर्न स्वीकृति किन दिइयो ? सञ्चालन गर्ने मापदण्ड के हो ? कार्यकर्तामूखी बजेटमात्र किन ल्याउने गरिन्छ ? भनि प्रश्न गर्नुभयो । जवाफमा वडाध्यक्षले प्रष्ट जवाफ दिन सक्नु भएन । प्लानिङ र खानी सञ्चालन आफ्नो क्षेत्राधिकार भन्दा पनि नगरपालिकाको भएको बताउनुभयो । बजेट कार्यकर्तामूखी नभई जनतामैत्री भएको दावी गर्नुभयो ।
पुष्पराज खत्रीले डोल्छी पुल किन भत्काइयो ? सुकुम्वासीको समस्या कसरी समाधान हुन्छ ? ४ वर्षमा आफ्नो धारामा एक गिलास पनि पानी नआएको, उपभोक्ता समितिमा राजनीतिक भएको तथा मेलम्चीको खानेपानी ल्याउनु पर्ने, तालिम लिइसकेपछि व्यवहारिक जीवनमा प्रयोग गर्ने अवस्था बनाउनुपर्ने लगायतका माग गर्नुभयो । जवाफमा अध्यक्ष तामाङले पुल बन्ने र सडक समेत बन्ने उल्लेख गर्दै सकुम्वासी समस्या समाधान स्थानीय सरकारले भन्दा पनि केन्द्रीय सरकारको फेरबदलसँग समस्या समाधान हुन नसकेको बताउनुभयो । खानेपानी समस्या समाधानको लागि वडामा सञ्चालनमा रहेका आयोजनाहरु समेत मेलम्चीसँगै सहकार्य गर्दै एकद्वार प्रणालीको माध्यमबाट वितरण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो ।
स्थानीय रामकृष्ण पोखरेलले वर्खायामसँग सडकमा समस्या आउने भएकाले सडकमा ग्राभेल गर्नु पर्ने, विश्वसँपदा सूचीमा परेको चाँगुनारयण मन्दिर क्षेत्रको व्यवस्थापन र सौन्दर्यीकरण गर्नुपर्ने तथा अपाङगता लक्षित कार्यक्रम ल्याउन माग गर्नुभयो । त्यस्तै उहाँले असार १५ सम्ममा सडक नबने सडकमा धान रोप्ने चेतावनी समेत दिनुभयो । ठेगदारले काम नगरे कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीय सरकारले नसके स्थानीयवासीलाई जिम्मा दिए कारवाहीको दायरामा ल्याउने भन्दै आक्रोसित हुनुभयो । जवाफमा वडाध्यक्ष तामाङले समस्या समाधानको अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्थानीय देवेन्द्र बुढाथोकीले मुलपानी–चाँगुनारायण–तेलकोट सडक उता बन्यो तर यहाँ किन बनेन ? सहायक सडकमा मापदण्ड किन फरक–फरक, बुढाथोकी गाउँ वडा नं. ४ मा पर्छ कि पर्दैन ? पर्छ भने किन बजेट विनियोजन नगरेका ? भनि प्रश्न गर्नुभयो । जवाफमा वडाध्यक्ष तामाङले भन्नुभयो, ‘पुल, बाटो बनाउन वडाको क्षमता अनुसारको बजेट विनियोजन गरिएको छ । कसैलाई काखा, कसैलाई पाखा गरिएको छैन । कामहरु निरन्तर रुपमा भइरहेका छन् । वडाको भुगोल ठूलो छ, बजेट आउने मात्र दुई करोड हो । त्यसर्थ अपेक्षाकृति काम गर्न सकिएको छैन । सडकको मापदण्ड अनुसार तीनवटै सरकारको क्षेत्र पर्ने भएकाले सोही अनुसार कार्य भइरहेका छन् ।’
चागुनारायण मन्दिरका पुजारी चक्र धरानन्द राज उपाध्यायले मन्दिर क्षेत्रलाई सुरक्षा तथा बत्ती किन काटियो ? भनि प्रश्न गर्नुभयो । जवाफमा चाँगुनारायण् प्रहरी प्रभावका प्रमुख राजकुमार बडालले १५ जनाको जनशक्तिले सकेसम्म गरिरहेको बताउनुभयो । मन्दिर परिसरमा २४सैं घण्टा प्रहरी खटिरहेको जानकारी गराउँदै उहाँले सुरक्षा व्यवस्था थप गर्नुपर्ने भए समन्वय गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यक्षेत्र भित्र कुनै पनि शान्ति सुरक्षाको कमि हुन नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
स्थानीयवासी जानुका रोकाहाले अपाङ्गता भएका बालवालिकालाई अध्ययन भ्रमण, क्षमता अभिवृद्धि तथा तालिमको व्यवस्थापन गरिदिन माग गर्नुधभयो । जवाफमा वडाध्यक्ष तामाङले आगामी बजेटमा अध्ययन भ्रमण, तालिम तथा क्षमता अभिवृद्धिको लागि बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै गौरीशंकर केसीले विरोधका लागि विरोधमात्र नभई वास्तविकतामा आधारित हुनुपर्नेमा जोड दिँदै विद्यालय क्षेत्रमा रहेको विद्युतको ट्रान्मिटर स्थान्तरण गरिदिन माग गर्नुभयो । जवाफमा वडाध्यक्षले विद्युत प्राधिकरणको कानुनी जटिलताका कारण उक्त कार्य हुन नसकेको जानकारी गराउँदै पहल गरिरहेको बताउनुभयो ।
त्यस्तै वडा सदस्य प्रदिप खनालले वेसी क्षेत्रमा यातायातको समस्या नभएको उल्लेख गर्दै माथिल्लो क्षेत्रमा मात्र समस्या रहेको औंल्याउनुभयो । असुरक्षित सडकका कारण व्यवसायीले यातायात सञ्चालन गर्न नमानिरहेको उल्लेख गर्दै उहाँले जेष्ठ नागरिकको यातायातमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । जनताको हुलाकीको रुपमा आफुले काम गरिरहेको उल्लेख गर्दै उहाँले केही सडकहरुमा ठेगदारलाई समन्वय गरी काम पुनः सञ्चालन भइरहेको जानकारी गराउनुभयो । वीर अस्पताल निर्माण क्षेत्र अन्तरगतका जनतालाई क्षतिपूर्ती सहितको व्यवस्था गरी गुनासो सम्बोधन हुनेमा विश्वत रहन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले कार्यक्रमको बारेमा जानकारी गरानुभयो ।






