काठमाडौँ, ११ जेठ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरिएको हो ।
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पर्यटन बोर्डका वरिष्ठ प्रबन्ध सूर्य थपलिया, फिल्म सम्बन्ध निकायका प्रमुख, संघसंस्थाका प्रतिनिधि सो अवसरमा सहभागी थिए ।
चलचित्र निर्देशक समाज र कलाकार संघका सबै कार्यसमिति सो अवसरमा सहभागी थिए । मन्त्रीद्वयले सो अवसरमा मुलुकको नाम ऊँचो बनाएकोमा बधाइ दिँदै सिंगो नेपाली फिल्म र संस्कृतिले गर्व गर्ने अवसर प्राप्त गरेको बताए । सूचना तथा संचार मन्त्रालयले चाँडै एक कार्यक्रम आयोजना गरेर सम्मान गर्ने भएको छ ।






