एजेन्सी, १० जेठ । अमेरिकाको राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउस नजिकै गोली चलेको खबर सार्वजनिक भएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।
सुरक्षा निकायहरूले यस घटनाप्रति तत्काल रेस्पोन्स गरेका छन् । हालसम्म यस घटनामा कोही घाइते भएको विवरण भने प्राप्त भएको छैन ।
एफबीआईका निर्देशक काश पटेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै सुरक्षा अधिकारीहरूले गोली चलेको घटनामा रेस्पोन्स गरिरहेको र यसबारे थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिने बताएका छन् ।
गोलीबारीको घटना हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेको बताइएको । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले ह्वाइट हाउस क्षेत्रमा आवतजावत बन्द गरी घेराबन्दी गरेको छ भने नेशनल गार्डका सैनिकहरूले वासिङ्टनको मुख्य क्षेत्रमा पत्रकारहरूलाई प्रवेश गर्न रोक लगाएका छन् । समाचार संस्था अल जजीराका अनुसार ह्वाइट हाउसको ‘नर्थ लन’ (उत्तरतर्फको चौर) नजिकैबाट ३० राउन्डभन्दा बढी गोली चलेको आवाज सुनिएको थियो । हाल ह्वाइट हाउसलाई विभिन्न आपत्कालीन सवारी साधन र सुरक्षा निकायहरूले घेरेका छन् । घटनाको समयमा राष्ट्रपति ट्रम्प ‘ओभल अफिस’ भित्र रहेको बुझिए पनि ह्वाइट हाउसले उनको अवस्थाबारे हालसम्म आधिकारिक रूपमा कुनै पुष्टि वा जानकारी सार्वजनिक गरेको छैन ।






