भक्तपुर, ९ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा सार्वजनिक सुनुवाइ तथा विकास निर्माण प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा वडा नं. ३ स्थित शहरी स्वास्थ्य केन्द्र झौखेलमा कार्यक्रम आयोजना गरिएको हो । स्थानीय तहमा सुशासन, पारदर्शिता, जवाफदेहिता तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीयबासीको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तह निर्वाचन २०७४ यता वडाले गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक तथा प्रशासनिक गतिविधि, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा भावी योजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो नौ वर्षे कार्यकालमा निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धतामध्ये करिब ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरे । उनले वडामा सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला तथा युवा सशक्तीकरण, सामाजिक सुरक्षा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।
“स्थानीय तह निर्वाचन २०७४ देखि नै हामीले प्रत्येक दिन वडामा बसेर छलफल, समीक्षा र गुनासो सम्बोधन गर्ने अभ्यास गर्दै आएका छौं,” उनले भने, “विकास निर्माणसँगै सेवा प्रवाहलाई पनि प्रभावकारी र जनमैत्री बनाउने प्रयास गरिरहेका छौं ।”
उनका अनुसार वडामा फुटपाथ र हरियालीसहितका पक्की सडक निर्माण, भित्री सडक स्तरोन्नति, खानेपानी योजनाको विस्तार, खुला व्यायामशाला निर्माण, उज्यालो वडा अभियान, पुरातात्त्विक फल्चा निर्माण तथा मठमन्दिर संरक्षण र मर्मतको काम गरिएको छ । उनले नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा, ल्यावसहितको शहरी स्वास्थ्य क्लिनिक सञ्चालन, प्राथमिक स्वास्थ्य सेवाको विस्तार तथा पशु बिमा कार्यक्रमसमेत सञ्चालन गरिएको जानकारी दिए ।
त्यस्तै, टनेल खेती, पशुपालन अनुदान, विभिन्न सिपमूलक तालिम तथा संस्कृति संरक्षणका कार्यक्रममार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको उनले बताए । धिमे समूहलाई सांस्कृतिक तालिम, नेपाल भाषा तथा बिस्केट जात्रा गुठीमार्फत सञ्चालन गरिएको समेत उनले उल्लेख गरे ।
कार्यक्रममा वडा सदस्य विष्णु प्रसाद न्यौपानेले वडाको विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा वडाको भौगोलिक अवस्था, जनसांख्यिक विवरण, स्थानीय सम्पदा, संस्कृति, चाडपर्व, पेशा–व्यवसाय, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, चुनौती तथा सम्भावनाका विषय समेटिएका थिए ।
कार्यक्रममा वडा सचिव प्रेम तुल्सीले कार्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउँदै केन्द्रीय सरकारले लामो समयदेखि कार्यरत अस्थायी तथा करार कर्मचारी हटाएपछि सेवा प्रवाहमा समस्या आएको बताए । जनशक्ति अभावका कारण कतिपय काममा दबाब बढेको उनको भनाइ थियो ।
सार्वजनिक सुनुवाइमा स्थानीयबासीले विकास निर्माण, सेवा प्रवाह तथा वातावरणीय व्यवस्थापनका विविध विषयमा प्रश्न, गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए । सहभागीहरूले आधुनिक तरकारी खेती अर्थात् टनेल खेतीमा अत्यधिक विषादी प्रयोग हुँदा स्थानीयबासीको स्वास्थ्यमा असर परेको गुनासो गरे । त्यसैगरी डिपबोरिङमार्फत वितरण भइरहेको खानेपानी शुद्ध नभएको भन्दै फिल्टर गरेर मात्रै वितरण गर्न माग गरिएको थियो ।
बस्ती विस्तारसँगै ढल व्यवस्थापनको समस्या बढ्दै गएको, सडक छेउमा पर्याप्त पानी निकास नहुँदा वर्षायाममा समस्या हुने गरेको तथा सरसफाइ व्यवस्थापन कमजोर रहेको भन्दै स्थानीयले चासो व्यक्त गरेका थिए ।
स्थानीयबासीले सडकबत्ती विस्तार तथा मर्मत गर्नुपर्ने, प्रत्येक स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, पार्क तथा खुला क्षेत्रको संरक्षण र विस्तार गर्नुपर्ने तथा विपद् व्यवस्थापनका सामग्री समयमै उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।
त्यसैगरी, घरनक्सा पास, सडक तथा अन्य पूर्वाधार निर्माणमा एउटै मापदण्ड लागू गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षणमा कडाइ गर्नुपर्ने तथा अव्यवस्थित जग्गा प्लानिङले बस्ती व्यवस्थापनमा समस्या सिर्जना गरेको भन्दै त्यसलाई व्यवस्थित गर्न माग गरिएको थियो ।
कार्यक्रममा स्थानीयले इँटाभट्टाका लागि माटो उत्खनन तथा ढुवानीका कारण बस्ती धुलाम्य भएको, वातावरणीय असर बढेको तथा सडक क्षति भएको विषय पनि उठाएका थिए । फोहोर संकलन र व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा लक्षित वर्गका कार्यक्रमलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनुपर्ने सुझावसमेत दिइएको थियो ।
महिला लक्षित कार्यक्रम परम्परागत ढाँचामा सीमित रहेको भन्दै त्यसलाई समयअनुकूल, सीपमूलक र प्रविधिमैत्री बनाउन स्थानीय महिलाहरूले माग गरेका थिए । बजेट फिर्ता जाने अवस्था दोहोरिन नहुने, योजनाहरू समयमै सम्पन्न हुनुपर्ने तथा तालिमलाई दैनिक जीवन र स्वरोजगारसँग जोड्नुपर्ने धारणा सहभागीले राखेका थिए ।
कार्यक्रममा वर्षौंअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र निर्माणका लागि वडा कार्यालयले उपलब्ध गराएको जग्गामा अझै अस्पताल निर्माण सुरु नभएको विषय पनि प्रमुख रूपमा उठाइएको थियो । स्थानीयले समयमा अस्पताल निर्माण नभए जग्गा फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा १८ जना स्थानीयबासीले प्रत्यक्ष रूपमा प्रश्न तथा सुझाव राखेका थिए । स्थानीयले केवल समस्या औंल्याउनेभन्दा समाधानमुखी सोच र सहभागितामूलक विकास आवश्यक रहेकोमा जोड दिएका थिए ।
वडा सदस्यहरू शिवराम सुलु र रमा थापाले नागरिकका प्रश्न तथा सुझावको जवाफ दिएका थिए ।
वडा सदस्य रमा थापाले लक्षित वर्गका लागि विभिन्न तालिम सञ्चालन गर्दै आएको जानकारी दिँदै वडाले ब्यूटी पार्लर, मोन्टेश्वरी, ड्राइभिङ, चोयाबाट सामग्री निर्माण, कफी वारिस्ता, बेकरी, मकैको खोस्टाबाट हस्तकला सामग्री निर्माण, मखमली ढाकाको जुत्ता तथा झोल साबुन/सर्फ बनाउने तालिम सञ्चालन गरेको बताइन् ।
“वडाले बेसिक र एडभान्स दुवै प्रकारका तालिम सञ्चालन गरेर व्यवसायी उत्पादन गर्ने प्रयास गरिरहेको छ,” उनले भनिन्, “वर्षमा करिब १८० जना स्थानीयलाई विभिन्न तालिममा सहभागी गराउँदै आएका छौं ।”
कार्यक्रममा चाँगुनारायण नगरपालिकाकाे सामाजिक विकाश शाखा प्रमुख निला घिमिरेले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय सार्वजनिक सुनुवाइमा उठाइनु सकारात्मक भएको बताइन् । उनले विकास निर्माणमा उपभोक्ता समिति र नागरिक दुवैको सक्रिय निगरानी आवश्यक रहेको उल्लेख गर्दै “नागरिकले आफ्नो दायित्व पनि बिर्सनु हुँदैन” भन्ने धारणा राखिन् ।
शान्ति सुरक्षासम्बन्धी विषयमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवेश अधिकारीले अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरी निरन्तर सक्रिय रहेको बताए । उनले भक्तपुर जिल्लामा वार्षिक एक हजार ६ सयभन्दा बढी उजुरी पर्ने गरेको जानकारी दिँदै तीमध्ये करिब ५४ प्रतिशत उजुरी आर्थिक अपराधसँग सम्बन्धित रहेको बताए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीचको सहकार्यले मात्रै विकास र सुशासनलाई प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरिएको थियो । रचनात्मक प्रश्न, सुझाव तथा आलोचनाले स्थानीय सरकारलाई अझ जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने निष्कर्ष कार्यक्रमले निकालेको थियो ।
नागरिकका अनुभव, समस्या, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रूपमा समेटिएको उक्त कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई थप जवाफदेही र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी लोकतान्त्रिक अभ्यास, सार्वजनिक उत्तरदायित्व र समाधानमुखी संवादको थलोका रूपमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।
पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए ।






