दुई सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भक्तपुर, ७ जेठ । चाँगुनारायण नगरपालिकामा आज एकै दिन दुई वटा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सञ्चाल केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा आज नगरपालिकाको १ र २ नं. वडा कार्यालयमा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएपछि चार वर्षमा भएका विकास निर्माण, सामाजिक विकास, विपद् व्यवस्थापन, शैक्षिक, प्रशासनीक सेवा सञ्चालन र प्रभावकारीता, स्थास्थ्य, पर्यावरणीय तथा भइरहेका प्रयासहरुका बारेमा छलफल भएको थियो ।

जनप्रतिनिधि र कर्मचारी प्रशासन जनताप्रति हुनुपर्ने पारदर्शीता, जवाफदेहिता र सुशासन पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै कार्यक्रममा नागरिकका अनुभव, सुझाव, अनुभव आदानप्रदा, समस्या तथा समाधानका उपाय तथा भावी रणनीतिको बारेमा चर्चा गरिएको थियो । आलोचनाभन्दा पनि समाधानमुखी सुझाव तथा सहभागितामूलक सोचको विकास र विकासको दिगोपना हुनुपर्नेमा जोड दिइएको छ । जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै जुनसुकै विकास र समृद्धिको कार्यहरुमा सक्रिय सहभागिता, रचनात्मक प्रश्न तथा सुझावले स्थानीय तहलाई कार्यसम्पादन गर्न सहज र परिस्कृत हुने बताइयो ।

नागरिकका अनुभव, समस्या, सुझाव तथा जिज्ञासाहरुलाई प्रत्यक्ष रुपमा समेटेको उक्त कार्यक्रमले जनप्रतिनिधि र जनताको उत्तरदायित्व बनाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । कार्यक्रमलाई औपचारिक मात्र बनाउने नभई लोकतान्त्रिक अभ्यास र जवाफदेही बनाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा समस्या देखाउनेमात्र नभई समाधान खोज्ने मार्गचित्रको रुपमा प्रस्तुत गरिएको थियो ।

वडा नं. २ को कार्यक्रममा बोल्दै वडाध्यक्ष सोमप्रसाद प्रधानले चुनावको समयमा जनतासामु गरिएका प्रतिवद्धता अनुरुप नै कार्य सम्पादन गरिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, वतावरण प्रदुषण न्युनिकरण, उज्यालो र समृद्ध वडा बनाउन आफुले सेवाग्राहीलाई खुसी बनाउन प्रयास गरेको दावी गर्नुभयो । आफुले नेतृत्व गरेपछि वडाको अवस्थामा सुधार गर्न र समाजलाई एकढिक्का बनाउन इतिहासले खोजेको, वर्तमानले मानेको कार्यहरुलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले भक्तपुरमा विकाष्का, गाइजात्रा, नेपाल सम्वत् जस्ता ऐतिहासिक महत्व बोकेका परम्पराहरुलाई कुनै जाती वा धर्मभन्दा माथि उठेर सवै वडावासीको चाडपर्वको रुपमा समावेशी तरिकाले मनाउन शुरुवात गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो वडालाई सफा र सुन्दर बनाउन हामीले सरसफाई अभियान चलाईरहेका छौं । जुन अहिले १६०औं हप्ता पुरा भएको छ । निशुल्क अक्सिजनको व्यवस्थापनसँगै जनतालाई सहजता पैदा गर्न एम्बुलेन्स सेवा सञ्चालन गरिरहेका छौं । रगतको अभाव हुने समस्यालाई पूर्ण रुपमा अन्त्य गरेका छौं । अब शुन्य प्लास्टिक वडा बनाउने चरणमा छौं । हाटबजार सञ्चालनमा ल्याउँदै छौं । जेष्ठ नागरिकमैत्री कार्यक्रमहरु ल्याएका छौं ।’

हाम्रो वडा, हाम्रो आवाज भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा वडाका वडा सचिव राकेश बासुकलाले चालु आवमा ७८ वटा आयोजनाहरु सम्पन्न गरेको जानकारी दिनुभयो । कर्मचारी अभावका कारण अपेक्षाकृति कार्यसम्पादन गर्न कठिनाइ भएको गुनासो गर्दै उहाँले वडाबाट चालु आवमा दुई करोड १८ लाख ५९ हजार नौं सय ४६ रुपैंया उठेको जानकारी गराउनुभयो । चाल वर्षमा ५४ जनाको जन्मदर्ता, ९ जनाको मृत्यदर्ता, ३८ जोडीको विवाहदर्ता, ८० जनाको बसाईसराई, चार जनाको सम्बन्धविच्छेद तथा चार हजार छ सय ५५ वटा विभिन्न प्रकारका सिफारिसहरु गरिएको जानकारी दिनुभयो ।

त्यसपश्चात सहभागी स्थानीयवासीले शिक्षा, स्वास्थ्य, इट्टाभट्टा, सडक, खानेपानी, पुस्तकालय, खेलमैदान, गिटी बालुवालाई सडकमा राखेर विभिन्न प्रकारका समस्या तथा दुर्घटना भएको, बाढी–पहिलो–डुवान, सडक लाईट, सीसी क्यामेरा, बजेट फिर्ता हुने समस्या, डिजिटलमैत्री सडक तथा कार्यसम्पादन हुनुपर्ने, योगमैत्री बनाउनुपर्ने, केएमसी अस्पतालमा छुट पाउनुपर्ने, मेलम्चीको खानेपानी ल्याउनुपर्ने, सार्वजनिक यातायातको सहज सञ्चालन गर्नुपर्ने, विद्यालयमा अनुगमन गर्नुपर्ने, किसानलाई मल व्यवस्थापन गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने, सवारी साधनको गति कम गर्ने रणनीति बनाउनुपर्ने, विकास कसैको प्रतिष्पर्धाको लागि नभई जनताको लागि हुनुपर्ने, सार्वजनिक सवारी साधनमा भाडा समायोजन गर्नुपर्ने, खेलमैदान हुनुपर्ने, प्लानिङ र इट्टा भट्टाले वातावरण तथा जनतामा ठूलो समस्या ल्याएकाले समाधान गर्नुपर्ने, इट्टा भट्टा बन्द गर्दा मजदुरको रोजगारी गुम्ने भएकाले त्यसको विकल्प हुनुपर्ने, लगानीकर्ताको लगानी नडुब्ने ग्यारेन्टी हुनुपर्ने, सार्वजनिक सम्पत्ती संरक्षण हुनुपर्ने, नक्सा पास गर्दा एकै प्रकारको मापदण्ड हुनुपर्ने, केएमसीमा स्थानीयवासीलाई छात्रवृद्धि हुनुपर्ने, सामुदायीक विद्यालयमा छात्रवृद्धि सिफारिस गर्दा वास्तविकतालाई नभई पहुँचका आधारमा हुने प्रवृत्ती रोक्नुपर्ने लगायतका मागहरु पुरा गरिदिन सहभागीहरुले माग गरेका थिए ।

प्रश्नपछि जवाफ दिँदै अध्यक्ष प्रधानले सरसफाई मानिसमा जनचेतना जगाउने कार्य भएको उल्लेख गर्दै वडामा नेप्सेम्याक सेवा प्रालिको सहयोगमा फोहोरमैला कम भएको बताउनुभयो । तिलगंगा आँखा अस्पतालको शाखा कार्यालय केहि समयपछि नै खोल्ने तयारी भइरहेको जानकारी दिनुभयो । विकास निर्माणका क्रममा कतिपय अवस्थामा ढिलाई भएकालाई स्वीकार गर्दै उहाँले टेण्डर प्रकृया नीतिगत समस्या रहेको तथा मुल्यवृद्धि लगायतका समस्याका कारण केहि ढिलाई भएको बताउनुभयो । खानेपानीको निर्माण तथा व्यवस्थापनमा सवै आयोजनाहरुलाई समन्वयात्मक ढंगले बजेट विनियोजन गरेको जानकारी दिँदै उहाँले मेलम्चीको खानेपानीको पाइप ल्याउन पहल भइरहेको बताउनुभयो । सडकमा गिट्टी तथा वालुवा राखेर जनतालाई समस्या पैदा गर्नेलाई आवश्यक कारवाही हुने उल्लेख गर्दै नगरप्रहरीको सहयोगमा त्यस्ता सामग्रीहरु हटाउने प्रतिवद्धता जनाउनुभयो । खेलमैदान तथा कवर्डहल निर्माण गर्ने क्रममा रहेको जानकारी दिँदै उहाँले वडालाई शिक्षा र स्वास्थ्यको हब बनाउने गरी कार्य भइरहेको बताउनुभयो । प्रतिजग्गा कसैले प्लानिको नाममा कब्जा गरेको जानकारी पाए तत्काल कारवाही हुने चेतावनी दिँदै उहाँले स्थानीयवासीलाई सूचना दिन आग्रह गर्नुभयो । त्यस्तै छात्रवृद्धिको क्षेत्राधिकारभन्दा बाहिर वडाले सिफारिस गरेको भए रोक्न विद्यालयलाई आग्रह गर्नुभयो ।

त्यस्तै वडा नं. १ मा पनि आजै सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सडा सचिव पशुपति गैडाले कार्यालयको वस्तुस्थितीको जानकारी गराउनुभयो । वडाले गर्ने कार्यक्षेत्र तथा भएका कार्यहरुको संक्षेपमा जानकारी गराउनुभयो । त्यपछि वडाध्यक्ष सिजन कार्कीले निर्वाचनका क्रममा जनताका बिचमा गरेका प्रतिवद्धतामध्ये करिव ७० देखि ७५ प्रतिशत पुरा गरेको दावी गर्नुभयो । शिक्षा, स्वास्थ्य, पूर्वाधान, महिला तथा युवा सशत्तीकरण तथा सामाजिक क्षेत्रमा जनमैत्री कार्यहरु गरेको उल्लेख गर्दै उहाँले आगामी वर्ष थप सहरी स्वास्थ्य केन्द्र बन्ने बताउनुभयो ।

त्यसपश्चात सहभागी स्थानीयवासीले अधिल्लो नेतृत्वले गरेका कार्यहरुलाई सम्पन्न गराउन ध्यान दिनुपर्ने, ६/६ महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने, शिक्षा, सडक, स्वास्थ्य क्षेत्रको पूर्वाधार जनताको पहुँचमा पुग्ने गरी कार्य गर्नुपर्ने, चाँगुनारायण सामुदायिक विद्यालयलाई नमुना विद्यालय बनाउनुपर्ने, व्यवस्थापन समिति तुरुन्त गठन गर्नुपर्ने, शिक्षाको गुणस्तर बढाउनुपर्ने, बस्तीभन्दा बाहिर खानेपानीको पाईप विस्तार गरेको तर वस्तीमा नभएकाले समस्या भएको, ढकल तथा सडक छेउमा पानीको नालि बनाउनुपर्ने, यातायात पूर्णरुपमा सञ्चालन गर्नुपर्ने, सडक बत्तीको समस्या समाधान गर्नुपर्ने, उत्कृष्ट नतिजा ल्याउने एसइइका विद्यार्थीलाई सम्मान गर्नुपर्ने, प्रत्येक स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने, पूर्वाधारको विकास गर्नुपर्ने, बृद्ध भत्ता वडाबाट नै वितरण गर्नुपर्ने, विपद व्यवस्थापनका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनुपर्ने, डिजिटल प्रविधिको सेवा सुरु गर्नुपर्ने, जेष्ठ नागरिक मिलन चौतारीको लागि आवश्यक सामग्री व्यवस्थापन गर्नुपर्ने, पार्क तथा खुल्ला क्षेत्रको विकास र विस्तार गर्नुपर्ने, नेपाल इन्जिनियरि कलेजमा निशुल्क छात्रवृद्धि कोटा व्यवस्थापन गर्नुपर्ने, चोरी डकैती तथा हत्या हिंसा रोक्न विशेष रणनीति बनाउनुपर्ने, लक्षित वर्गमा गरिएका कार्यक्रम तथा तालिमबाट दैनिक जीवनमा प्रयोग तथा आत्मनिर्भरता बनाउनुपर्ने, महिला लक्षीत कार्यक्रम पुरानो ढर्राका भएकाले प्रविधिमैत्री बनाउनुपर्ने, बजेट फिर्ता पठाई विगतको जस्तो गल्ती गर्नु नहुने, फोहोर संकलन तथा उचित व्यवस्थापन गर्नुपर्ने, खानेपानीको व्यवस्थापन भए पनि खानयोग्य नभएकाले फिल्टर गरी धारामा पठाउनुपर्ने, घरनक्सा, सडक, तथा अन्य पूर्वाधार विकासको मापदण्ड एकै प्रकारको हुनुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने लगायतका माग तथा सुझावहरु प्रस्तुत गरिएको थियो ।

सुझाव तथा मागहरु पश्चात जवाफ दिँदै वडाध्यक्ष कार्कीले चाँगुनारायण माविमा अबको १५ दिनभित्रमा व्यवस्थापन समिति बन्ने बताउनुभयो । भौतिक पूर्वाधार विकास र सडक व्यवस्थित तथा परिणामूखी बनाउने कार्य भएकाले केहि समय ढिला हुन गएको बताउनुभयो । त्यस्तै अध्याधिक महंगीका कारण समेत निर्माण कार्यमा ढिलाई भएको बताउनुभयो । सडक बत्ती दैनिक बल्ने गरी व्यवस्थापन गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले विद्युत प्राधिकरणलाई भत्तानी दिन ढिलाई भएका कारण पनि सडक बत्तीमा समस्या आएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोलेनिकाले सामाजिक सुरक्षा भत्ता डिजिटल माध्यमबाट गर्दा बैंकमा अनिवार्य डिपोजिट गर्ने गरेको छ । हातहामै आउने बनाउन पहल गर्नेछु । आगामी दिनमा सार्वजनिक यातायात सञ्चालन हुन्छ । सामाजिक सुरक्षाका लागि सीसी क्यामेराका तारहरु निर्माण सामाग्री बोक्ने गाडीले चुडाउने गरेका कारण समस्या उत्पन्न भएको छ । तर पनि वडाबाट ८ वटा नाकामा सीसी क्यामेराबाट निगरानी गरिरहेका छौं । त्यस्तै महिला तथा युवा लक्षीत कार्यक्रमहरु पुरानो तरिकाले गर्दा औचित्य नहुने भएकाले नविनतम् नेक्ट जेनेरेसनसँग छलफल गरी नयाँ तरिकाले अगाडी बढाउने छौं । त्यस्तै डिजिटल तालिम दिने तयारी भइरहेको छ । सोही अनुसार नयाँ योजना वा तरिका आएपछि मात्र लक्षीत कार्यक्रमलाई सुचारु गर्नेछौं । सडक तथा पहिलो नियन्त्रणका लागि आवश्यक पहल गर्नेछौं । फोहोर डम्पि साईड घट्ने क्रममा रहेको छ । थप बढ्न नदिने सीसी क्यामेराको प्रयोग गरी नियन्त्रण गर्ने क्रममा रहेका छौं ।’

त्यस्तै उहाँले वडा चक्रपथले सडक सञ्जालले यातायात समस्या समाधान हुने उल्लेख गर्दै तीन करोडको खानेपानी तथा सात करोडको अन्य पूर्वाधार निर्माणका कार्यहरु भइरहेकाले जनताको न्युनतम आवश्यकता पुरा गर्ने चरणमा पुगेको दावी गर्नुभयो । पहिरो नियन्त्रणका कार्यहरु नियमित भइरहेको उल्लेख गर्दै उहाँले ४९ वटा ट्याक्टरहरु वितरण गरी कृषीको आधुनिकीकरणमा विशेष योजना अगाडी बढाइएको बताउनुभयो ।

उक्त कार्यक्रममा शान्ति सुरक्षाको सवालमा प्रहरी सहायक निरिक्षक गंगाप्रसाद दाहालले जेनजी आन्दोलनपछि काम गर्न कठिन भएको बताउनुभयो । सुकुम्वासीलाई हटाउने अभियानले बहुमुल्य सामाग्रीहरु चोरी बढेको जानकारी गराउँदै उहाँले जनशक्ति अभावका कारण अपेक्षाकृत शान्ति सुरक्षा कायम गर्न नसकेको गुनासो गर्नुभयो । सुरक्षाको लागि सीसी क्यामेरालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिँदै उहाँले बस्ने ठाउँ अभाव भएकाले स्थायी रुपमा वडाले संरचना तयार गरिदिन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा पूर्व अर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरमा नियमित सचेतना

काठमाडौँ, ७ जेठ । आजको प्रतिनिधि सभाको बैठक ११ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

जनकपुर, ७ जेठ । मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारण धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा