काठमाडौँ, ७ जेठ । चितवनमा यस वर्ष मह उत्पादनमा कमी आएको छ ।
गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईले जानकारी दिए ।
उनका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो ।
बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ । तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको हो । यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन् । अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए ।






