काठमाडौँ, ५ जेठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद निशा डाँगीले पाँच वर्षमा लागु औषध प्रयोग शून्य बनाउन सरकारसँग माग गरेकी छन् ।
आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै डाँगीलेले निर्वाचन क्षेत्रमा जाँदा धेरै आमाबुबाहरूले आँखाभरि आशु झारेर लागु औषधबाट आफ्ना छोराछोरीको रक्षा गर्न आह्वान गरेको पनि बताइन् ।
उनले झापा निर्वाचन क्षेत्र नम्बर १ मा मात्र होइन प्रत्येक सीमा नाकाका क्षेत्रमा यस्ता समस्या देख्न सुन्न पाइने गरेको सुनाइन् । उनले नेपालमा लागु औषधको प्रयोग र ओसार प्रसार राष्ट्रिय समस्याका रूपमा देखापरेको भन्दै लागु औषध ब्युरोका अनुसार १ लाख ५० हजारभन्दा बढी लागु औषध प्रयोगकर्ता रहेको पनि बताइन् ।
विशेषगरी यो समस्या सीमा क्षेत्रमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै भनिन्, ‘यो पाँच वर्षमा ‘से नोटु ड्रग्स’ जस्ता अभियान सञ्चालन गर्न र लागु औषध प्रयोग शून्य बनाउन आग्रह छ ।’






