काठमाडौँ, २ जेठ । फिल्म ‘धुरन्धर-२’ ले पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको बताइएको छ ।
पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार, यो फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तै पाकिस्तानमा नम्बर १ मा ट्रेन्डिङ भइरहेको छ र अत्यधिक ट्राफिकका कारण नेटफ्लिक्सको सर्भरसमेत क्र्यास भएको छ ।
‘धुरन्धर’ र ‘धुरन्धर २’ दुवै फिल्मलाई पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । तर, मे १५ मा नेटफ्लिक्समा रिलिज भएपछि यसले ठूलो दर्शक संख्या पाएको छ । फारूकीले दाबी गरेअनुसार रिलिज भएको २४ घण्टाभित्रै फिल्मले करिब २० करोड भ्युज पाएको छ । यद्यपि, सर्भर क्र्यास भएको बारे नेटफ्लिक्सले आधिकारिक पुष्टि भने गरेको छैन।
क्रिएटर मावियाका अनुसार, फिल्मलाई लिएर दुष्प्रचारको आलोचना भए पनि पाकिस्तानी दर्शकहरूमा यो फिल्म हेर्ने तीव्र उत्सुकता थियो । दर्शकहरू रणवीर सिंहले आफ्नो भूमिका कसरी निभाएका छन् र फिल्ममा देखाइएको कराँचीको क्षेत्रको घटनाक्रम कति वास्तविक छ भन्ने कुरा जान्न चाहन्थे ।
पाकिस्तानमा यो फिल्म ‘धुरन्धर: द रिभेन्ज (रअ एण्ड अनदेखा)’ शीर्षकमा रिलिज भएको छ। नेटफ्लिक्समा यसको ३ घण्टा ५२ मिनेट लामो ‘अनकट भर्सन’ उपलब्ध छ। यसमा करिब ३ मिनेटका त्यस्ता एक्सन दृश्यहरू र रअ फुटेजहरू समावेश छन्, जसलाई भारतका सिनेमा हलहरूमा प्रदर्शन गर्दा काटिएको थियो।
यो फिल्म अहिले पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय देशहरूमा नेटफ्लिक्समा उपलब्ध छ, तर भारतमा भने नेटफ्लिक्समा स्ट्रिम गरिएको छैन।






