काठमाडौँ, १ जेठ । विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी सङ्गठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौँमा मार्चपास गरेको छ ।
त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘सीमा गुम्दा पनि सरकार मौन ! मिचियो कि बेचियो ?’, ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्याली आयोजना गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।





