काठमाडौँ, ३१ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको विषयमा सत्तारुढ रास्वपाको ध्यानाकर्षण गराएका छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आज प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए ।
संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी आफ्नो गन्तव्यमा ठीक ढंगले हिँडाउने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उनको भनाइ छ ।
उनले भने, “संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो । बहुमतको नेतृत्व गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था संसदीय व्यवस्था हो,” “त्यस अर्थमा संसद्लाई कसरी व्यवस्थित बनाउने, कसरी मर्यादित बनाउने, कसरी यसलाई आफ्नो गन्तव्यमा ठीक ढंगले हिँडाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीज्यूकै हुन्छ ।”






