काठमाडौँ, ३१ बैशाख । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न मागदाबीसहित दायर गरिएको निवेदन सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेन्चमा परेको छ ।
आज न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका निम्ति पेसी तय भएको थियो । तर, हेर्न नमिल्ने भएपछि अर्को दिनका निम्ति सुनुवाइको पेसी तोक्न आदेश भएको छ ।
मुद्दामा विपक्षी बनाइएको चलचित्र विकास बोर्डलाई पेसीको सूचना नपुगेको अवस्था देखिएपछि बुधबार सर्वोच्चले पुनः आदेश दिएको थियो ।
चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको भन्दै डा. रोशनी नेपालीले सर्वोच्चमा निवेदन दिएकी हुन् । उच्च अदालत पाटनले यही वैशाख २३ गते एकल इजलासबाट चलचित्र प्रदर्शन रोक्न भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बाटो खुलाएपछि डा. नेपाली निवेदन लिएर सर्वोच्च पुगेकी थिइन् ।






