काठमाडौँ, ३० बैशाख । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिएको हो ।
तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ३ लाख पटक कारोबार गरेका छन्। यस माध्यमबाट कुल ८० अर्ब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। डेबिट कार्डको तुलनामा मोबाइल बैंकिङको प्रयोग अझ व्यापक र ठुलो परिमाणको देखिएको छ । मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख पटक कारोबार हुँदा ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
यसैगरी, क्यूआर कोड भुक्तानी प्रणाली पनि तीव्र रूपमा विस्तार भइरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । चैत मसान्तसम्म ५ करोड ४६ लाख पटक क्यूआर कोड स्क्यान गरी १ खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।






