एजेन्सी, २८ बैशाख । उत्तर कोरियाले संविधानमा संशोधन गर्दै यदि, नेता किम जोङ उनको हत्या भए जवाफी कदम स्वरूप स्वतः आणविक हमला गर्ने व्यवस्था गरेको अमेरिकाको ‘फक्स न्युज डिजिटल’ले बताएको छ ।
इरानका सर्वोच्च नेता अली खामेनी र अन्य अधिकारीहरूको हालैको द्वन्द्वका क्रममा हत्या भएपछि बढ्दो विश्वव्यापी तनावका बीच यो परिवर्तन गरिएको ‘द टेलिग्राफ’को रिपोर्टलाई उद्धृत गर्दै ‘फक्स न्युज डिजिटल’ले जनाएको छ ।
खामेनी यसै वर्षको सुरुमा अमेरिका र इजरायलको संयुक्त सैन्य अपरेसनका क्रममा तेहरानमा भएको इजरायली आक्रमणमा मारिएका थिए । उत्तर कोरियाको सर्वोच्च जनपरिषद्को मार्च २२ देखि प्योङयाङमा सुरु भएको अधिवेशनले यो संवैधानिक संशोधनलाई अनुमोदन गरेको बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायले यसै हप्ता सरकारका वरिष्ठ अधिकारीहरूलाई यसबारे जानकारी गराएको समाचारमा उल्लेख छ ।
संशोधित नीतिले उत्तर कोरियाको नेतृत्व असक्षम भएमा वा मारिएमा गरिने प्रतिशोधात्मक कारबाहीको रूपरेखा तय गरेको हो । संशोधन गरिएको प्रावधानमा भनिएको छ, “यदि, राज्यको आणविक बलमाथिको कमान्ड–एन्ड–कन्ट्रोल प्रणाली शत्रु शक्तिहरूको आक्रमणका कारण खतरामा परेमा तत्काल र स्वचालित रूपमा आणविक हमला सुरु गरिनेछ ।”
रोयटर्सले यसअघि उत्तर कोरियाले आफ्नो संविधान संशोधन गरी दक्षिण कोरियासँगको सीमालाई स्पष्ट तोकेको र दुई देशबीच एकता (रियुनिफिकेसन)का सन्दर्भहरूलाई हटाएको रिपोर्ट गरेको थियो । उत्तर कोरियाको संविधानमा सीमा समावेश गरिएको यो पहिलोपटक भएको बताइएको छ ।
गत महिना किमले दक्षिण कोरियाप्रति कडा अडान राख्दै देशको आणविक क्षमतालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । दक्षिण कोरियालाई उनले सबैभन्दा शत्रुतापूर्ण राज्य भनेका छन् । किमले अमेरिकालाई पनि राज्य आतंकवाद र आक्रामकताको आरोप लगाउँदै बढ्दो विश्वव्यापी तनावका बीच वासिंटनको विरोधमा उत्तर कोरियाले थप सक्रिय भूमिका खेल्न सक्ने संकेत दिएका छन् ।







