एजेन्सी, २४ बैशाख । इन्डोनेसियाको सुमात्रा टापुस्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ ।
दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् ।
दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो । प्रारम्भिक अनुसन्धानले बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको सङ्केत गरेको छ ।
मुगोनोका अनुसार बसबाट अचानक स्पार्क निस्किएको हुन सक्ने अनुमान गरिएको छ । सम्भावित ठूलो दुर्घटनाबाट बच्न चालकले बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए । तर सोही समयमा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको तेल ट्याङ्कर ट्रकसँग बस सिधै ठोक्किन पुगेको थियो । ठक्कर अत्यन्त शक्तिशाली भएकाले केही क्षणमै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागीले बस र ट्याङ्करलाई पूर्ण रूपमा ढाकेको थियो । धेरै यात्रु बाहिर निस्किन नपाउँदै आगोले घेरेपछि उनीहरू सवारीभित्रै फसेका थिए ।
दुर्घटनामा बस चालकसहित १३ जना यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्नसमेत कठिनाइ भएको जनाइएको छ ।







