काठमाडौँ, २२ बैशाख । सामाजिक सञ्जाल टिकटकमा हतियारसहितको भिडियो पोस्ट गरी समाजमा डर र त्रास फैलाएको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका वडा नं. ४ का २६ वर्षीय अनिल खटिक रहेका छन् । उनीहरूले आफ्नो टिकटक आईडीबाट हातमा हतियार समातेको र सर्वसाधारणलाई आतंकित पार्ने खालका अस्वाभाविक गतिविधि प्रदर्शन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अजय कुमालले ‘Ajay Magar’ र अनिल खटिकले ‘Anilsonkhar’ नामको टिकटक आईडी प्रयोग गरी त्यस्ता भिडियोहरू सार्वजनिक गरेका थिए। आम जनमानसमा असुरक्षाको भावना पैदा गर्ने र समाजलाई आतंकित तुल्याउने किसिमका दृश्यहरू पोस्ट गरेपछि उनीहरूलाई प्रहरीले निगरानीमा राखेर पक्राउ गरेको हो ।





