एजेन्सी, २२ बैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मोजमा अमेरिकाले इरानका सातवटा फास्ट बोटहरूमाथि हमला गरेको जानकारी दिएका छन् ।
इरानले युनाइटेड अरब इमिरेट्स (युएई)को प्रमुख तेल बन्दरगाहमा आक्रमण गरेपछि अमेरिकाले यो कदम चालेको हो ।
युएई र दक्षिण कोरिया दुवैले सोमबार यस महत्त्वपूर्ण जलमार्गमा आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेका छन् । युएईका अनुसार इरानी आक्रमणपछि फुजैराहस्थित तेल बन्दरगाहमा भीषण आगलागी भएको छ। फुजैराह युएईको सबैभन्दा ठुलो बन्दरगाह र तेल भण्डारण केन्द्र हो ।
अवरुद्ध जलमार्गमा फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्नका लागि ट्रम्प प्रशासनले प्रोजेक्ट फ्रीडम सुरु गरेको छ । विश्वकै चर्चित सिपिङ कम्पनी मर्सले अमेरिकी सैन्य सुरक्षामा आफ्नो एउटा जहाज सुरक्षित रूपमा स्ट्रेट अफ हर्मोजबाट बाहिर निस्कन सफल भएको पुष्टि गरेको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले यस क्षेत्रको घटनाक्रमले राजनीतिक संकटको कुनै सैन्य समाधान नभएको स्पष्ट पारेको बताएका छन् । उनले अमेरिकी अभियानलाई व्यङ्ग्य गर्दै भनेका छन्, प्रोजेक्ट फ्रीडम वास्तवमा प्रोजेक्ट डेडलक (निकासविहीन योजना) हो ।







