काठमाडौँ, २० बैशाख । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत प्राप्त प्रस्तावमध्ये एक हजार तीन सय एक (१३०१) परियोजनालाई प्रारम्भिक सूचीमा छनोट गरेको छ ।
प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै प्रारम्भिक सूचीमा छानिएका परियोजनाको सूची सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा परेका प्रस्तावकले प्राप्त गरेको मेसेज लिंकमा क्लिक गरी वेबसाइटमा राखिएको प्रारम्भिक सूचीमा समावेश परियोजना प्रस्तावको थप मूल्यांकनका लागि आवश्यक सूचनाको ढाँचा डाउनलोड गरी आफ्नो व्यावसायिक विवरण भर्नसमेत प्रतिष्ठानले भनेको छ । पूर्ण रूपमा भरेर यही २३ वैशाखभित्र ह्वाट्सएपमा पठाउन प्रतिष्ठानको आग्रह छ । तोकिएको समयसीमाभित्र नपठाए उक्त प्रस्ताव स्वतः अमान्य हुनेसमेत बताइएको छ ।
प्रतिष्ठानले १९ कात्तिकमा २१ दिने सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको थियो । त्यसमा १० हजार २ सय ४४ उद्यमीका परियोजना प्रस्ताव आएका छन् । प्रतिष्ठानमै आई २ हजार ४१ उद्यमीले परियोजना प्रस्ताव दर्ता गराएका थिए । अनलाइनमार्फत भने ८ हजार २ सय ३ जनाले प्रस्ताव दर्ता गराएका थिए ।
सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप कर्जा प्रवाह गर्न ७३ करोड रुपैयाँ बजेट छुट्याएको छ । तर प्रतिष्ठानमै खर्च नहुने शीर्षकमा रहेको रकमलाई रकमान्तरण गरेर स्टार्टअप कर्जाका लागि वितरण हुने रकम १ अर्ब २६ करोड पुगेको प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले जनाए ।
कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ । प्रतिष्ठानले यसअघि उद्यमीलाई न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा वितरण गर्दै आएको थियो । तर यस वर्ष न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रुपैयाँसम्म कर्जा वितरण गर्ने बताएको छ ।






