काठमाडौँ, १८ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा जिम्मेवार बन्न सरकारलाई आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गरे ।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस महत्वपूर्ण घडीमा, नेपाली कम्युनिष्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुमबासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव स्पष्ट र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछ । श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दछु । श्रमिकहरूको ट्रेड युनियन अधिकार तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा कुनै पनि प्रकारको संकुचनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी बनोस् ।’






