काठमाडौँ, १६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् ।
आज काठमाडौँमा २७ औं यदु स्मृति दिवश तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले माओवादीका नाममा देशले लामो समय उग्र वामपन्थको मार खेप्नु परेको बताएका हुन् ।
२०५६ सालको आम निर्वाचनमा एमालेको तर्फबाट रुकुममा उम्मेद्वार रहेका गौतमले तत्कालिन माओवादीहरुले हत्या गरेका थिए । माओवादीको उपादेयता सकिएर नै अहिले आफ्नो पार्टीको नामबाट प्रचण्डले माओवादी भन्ने फुर्को झिकेको पौडेलले बताए ।
उनले भने, ‘माओवादीले जबसम्म हत्याको बाटो लियो,हिंसाको बाटो लियो । जनयुद्धका नाममा सत्ता कब्जाको अभ्यास गर्यो असफल भयो’ ‘त्यसपछि एमाले र काँग्रेससँग मिलेर जनआन्दोलनमा सहभागी भएको हो ।’
०६४ को संविधानसभामा माओवादीलाई असाधरण तरिकाले जनताले मत दिए पनि त्यसलाई उसले उपयोग गर्न नसकेको पौडेलको भनाइ छ । उनले भने, ‘असाधरण मत आउदा पनि माओवादीमा कब्जाको धङधङी गएन’ ‘सरकारमा गएपछि पनि राज्य कब्जा गर्ने,सेना कब्जा गर्ने, सेनापती बर्खास्ती गर्ने र नयाँ सेनापति ल्याउने उनीहरुको चाहना अझ बढ्यो । माओवादीको आकांक्षा त पुरा खालको थिएन तर यसकै कारणले देशले लामो समय दुख पायो । ’







