महिला सशक्तीकरणमा चाँगुनारायणको पहल : ८८ जना लाभान्वित, उद्यमशीलतामा जोड

भक्तपुर, १५ बैशाख । चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटमा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको “उपप्रमुखसँग महिला लक्षित कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममार्फत ८८ जना महिलाले सीपमूलक तालिम प्राप्त गर्दै आत्मनिर्भर बन्ने दिशामा महत्वपूर्ण कदम चालेका छन् । वडाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा दुई फरक प्रकृतिका तालिम सञ्चालन गरिएको थियो । जसअन्तर्गत ३५ दिने मखमलको जुत्ता बनाउने तालिम तथा २० दिने हलुका सवारी साधन चलाउने तालिम समावेश थिए ।

तालिम समापन कार्यक्रम चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष सोमप्रसाद प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो  । कार्यक्रममा बोल्दै उपप्रमुख बुढाथोकीले महिला सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिन आग्रह गर्नुभयो। उहाँले तालिम प्राप्त महिलालाई व्यावसायिक रूपमा अघि बढ्न आवश्यक सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी वडा अध्यक्ष प्रधानले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन स्थानीय तहले निरन्तर पहल गरिरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । वडा नं. २ का कर्मचारी राममाया रानामगरको सञ्चालन तथा जनप्रतिनिधि राधादेवी माकाजुको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरूले सिकेको सीपमार्फत सफल उद्यमी बन्ने विश्वास व्यक्त गरेका थिए ।

उनीहरूले यस्ता अवसरले आफ्ना क्षमताको विकास मात्र नभई आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुगेको बताएका छन् । स्थानीय तहको पहलमा सञ्चालन भएका यस्ता कार्यक्रमले महिलालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रेरित गर्दै समग्र समाजको आर्थिक विकासमा टेवा पुर्‍याउने स्थानीय सामाजिक अभियन्ता नबराज काफ्लेले विस्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसदीय सर्वोच्चता लत्याएको टिप्पणी गरेका छन् । संसद् अधिवेशन स्थगित गर्दै

काठमाडौँ, १५ बैशाख । नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको

काठमाडौँ, १५ बैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभा हल तथा

काठमाडौँ, १५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय