काठमाडाैँ, १४ बैशाख । वैशाख २४ गते देखि जेठ ०९ गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा ‘तेश्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८३’ संचालन हुने भएको छ ।
उपभोक्ताहरुलाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्रीहरुको प्रदर्शनी एवम् सर्वशुलभ मुल्यमा बिक्रि वितरण गराउने तथा स्थानीय प्रतिभाहरुको खोजी गर्ने मुख्य उदेश्यका साथ नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको हो ।
औद्योगिक उत्पादनको प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटोमोबाईल तथा विद्युतीय उपकरण / कृषि औजार प्रदर्शनी, मोबाईल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुडाको बिक्री वितरण साथै पर्यटन संग सम्बन्धित गतिविधिहरु प्रदर्शनीमा रहने छन् । करिव दुई लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटे पिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ तथा बच्चाका खेलौनाहरु, विभिन्न किसिमका खाना महोत्सव, दैनिक रुपमा ख्याति प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसहित प्रथम गोकर्णेश्वर डान्स आईडल समेत रहनेछ जसको संयोजन शिखर छहारी सांस्कृतिक कला केन्द्रले गर्नेछ । महोत्सवको आकर्षणका रुपमा मुख्य प्रवेश द्वार लण्डन ब्रीज रहने छ ।
कुल १२० स्टलहरु रहने महोत्सवमा स्थानीय उत्पादन, महिला उद्यमी हरुका लागि गोकर्णेश्वर नगरपालिकाबाट सिफारिस भएर आएका स्थानीय उत्पादन, सीप एवम् कलाका लागि निशुल्क स्टलको व्यवस्था गरिएको आयाेजकले जनाएकाे छ ।
छिमेकी नगरपालिका तथा आसपासका जिल्लाका वासिन्दाले समेत लाभ लिन सक्ने महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागी रु १०० र विद्यार्थी सहुलियत रु ५० राखिएको छ। विद्यार्थी सहुलियतका लागि परिचय पत्र अनिवार्य गरिएको छ। जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क प्रवेश को व्यवस्था गरिएको छ । जेठ ८, ९२ १० गते विशेष कन्सर्ट रहनेछ भने उक्त दिन प्रवेश शुल्क हेरफेर हुने बताइएकाे छ ।






