एजेन्सी, १४ बैशाख । लेबनान र इजरायलबिच जारी युद्धविरामका बावजुद आइतबार इजरायली सैन्य कारबाहीमा परी लेबनानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकहरूमा दुई बालबालिका र दुई महिला समेत रहेका छन् भने ३७ जना घाइते भएका छन् ।
इजरायली रक्षा बलले दक्षिण लेबनानका केही गाउँहरू तत्काल खाली गर्न चेतावनी दिएलगत्तै ‘आर्टिलरी र हवाई’ आक्रमण सुरु गरेको थियो । इजरायलले हिजबुल्लाहका लडाकु र सैन्य स्थलहरूले इजरायली सैनिकमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै सो क्षेत्रलाई लक्षित गरेको जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहले युद्धविरामको उल्लंघन गरिरहेको आरोप लगाउँदै इजरायलले आत्मरक्षा र तत्काल खतरालाई निष्क्रिय पार्न कडा कदम चालिरहेको बताए । नेतन्याहुका अनुसार इजरायलले अमेरिका र लेबनानसँग भएको सम्झौताको नियमभित्रै रहेर कारबाही गरिरहेको छ ।
यसैबिच, हिजबुल्लाहको ड्रोन आक्रमणमा परी लेबनानमा १९ वर्षीय एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। इजरायलले आफ्नो सीमातर्फ आएका हिजबुल्लाहका तीनवटा ड्रोनहरूलाई आकाशमै खसालिदिएको समेत दाबी गरेको छ ।







