एजेन्सी, ११ बैशाख । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ ।
स्ट्रेट अफ होर्मुजमा इरान र अमेरिकाबिच तनाव चर्किएपछि आज कच्चा तेलको भाउ बढेको हो । अमेरिका र इरान स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजलाई निशाना बनाउने खेलमा व्यस्त रहँदा तेल बजार त्रस्त बन्दा भाउ बढेको हो ।
आज बिहानी कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०६ डलर नाघेको थियो । आज ब्रेन्ट क्रुडको भाउ १०६ डलर ८० सेन्टमा कारोबार भएको थियो, जुन बुधबारको बन्द मूल्यभन्दा झण्डै ५ प्रतिशतले बढी हो । बुधबार दुई सातापछि पहिलो पटक ब्रेन्टको भाउले १०० डलर पार गरेको थियो ।
तनाव बढेसँगै अमेरिकी सेयर बजारमा पनि कमी आएको छ । बिहीबार कारोबार बन्द हुँदा एसएन्डपी ५०० परिसूचक शून्य ४१ प्रतिशतले घटेको थियो भने नास्डाक कम्पोजिट शून्य दशमलव ८९ प्रतिशत तल झरेको थियो । स्ट्रेट अफ होर्मुजबाट विश्वमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ । तर अहिले यो लगभग ठप्प अवस्थामा छ । इरानले जहाज आवतजावतमा नियन्त्रण गर्न खोजिरहेको छ भने अमेरिकाले इरानको समुद्री व्यापार रोक्न प्रयास गरिरहेको छ ।इरानी डुङ्गाहरूले स्ट्रेटमा बारुदी सुरुङ राखेमा नष्ट गर्न अमेरिकी नौसेनालाई आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । इरानले सम्झौता नगरेसम्म स्टेट पूर्ण रूपमा बन्द रहने चेतावनी समेत उनले सामाजिक सञ्जालमा दिएका छन् । यसअघि इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)ले पानामा र ग्रिसको गरेर दुई विदेशी कार्गाे जहाज नियन्त्रणमा लिएको दाबी गरेको थियो ।






