काठमाडौँ, १० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री डा. तिमल्सिनाले सञ्चार जगत् र सरकार मिलेरै अघि बढ्ने बताएका हुन् । साना तथा स्वरोजगारमुखी मिडियाका समस्या समाधानबारे सरकार सकारात्मक रहेको बताए ।
मन्त्री तिम्लसिनाको भनाई उद्धृत गर्दै पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारूले भने, ‘सरकारी विज्ञापन नियमन र व्यवस्थित गर्छौं। स्थानीय तहको विज्ञापन सूचना सबैले पाउँछन्। तर, व्यवस्थित गर्न केही समय लाग्छ। सञ्चार जगत् र सरकार मिलेरै अघि बढ्ने हो।’
महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री तिमल्सिनालाई भेटी सफल कार्यकालको शुभकामनासहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।






