काठमाडौँ, १० बैशाख । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् ।
सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले पठनपाठन सुरु गरेका हुन् ।
सङ्घीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि अधिकांश स्थानीय तहले शैक्षिक क्यालेन्डरमा प्रभाव पर्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन् । जिल्लाको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ ।
पालिकाका नगर शिक्षा अधिकारी पदमराज आचार्यले पालिकामा रहेका समुदायिक विद्यालयका प्रधानाध्यापकहरुको अनुरोधअनुसार नगरप्रमुखले पठनपाठन सुरु गर्न सहजीकरण गरेको बताए ।






