कच्चा तेलसँग तुलना गरेर इन्धनको मूल्यबारे भ्रममा नपरौँ : आयल निगम

काठमाडौँ, ६ बैशाख । पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति नेपाल आयल निगमले प्रष्टिकरण दिएको छ ।

क्रूड आयल (कच्चा तेल) को मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले नेपालमा आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले भने,“क्रूड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रूड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,” ।

नेपालले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतले पठाउने मूल्य प्रशोधित पेट्रोल र डिजेलको १५ दिनको औसत अन्तर्राष्ट्रिय मूल्यका आधारमा तय हुने भएकाले नेपालमा मूल्य समायोजन पनि सोही आधारमा हुने गरेको निगमले जनाएको छ ।

तथ्यांकअनुसार १६ अप्रिल २०२६ (३ वैशाख २०८३) मा क्रूड आयलको मूल्य प्रति ब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रूड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ । सामान्य अवस्थामा क्रूड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रूड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ ।

यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ । निगमका अनुसार भन्सार, कर, ढुवानी, बिमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने हुँदा देशअनुसार इन्धनको मूल्य फरक–फरक हुने गर्दछ । प्रवक्ता ठाकुरले उपभोक्ता तथा सरोकारवालालाई यथार्थ तथ्यका आधारमा बुझ्न र भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ७ बैशाख । आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको