काठमाडौँ, ४ बैशाख । संघीय संसद्का विषयगत समितिले नेतृत्व पाउने भएका छन् ।
प्रतिनिधिसभाका १० विषयगतसँगै राष्ट्रिय सभा र प्रतिनिधिसभाका २ संयुक्त गरी १२ वटा संसदीय समितिका सभापतिको चयन आज हुने भएको छ । सभापतिका लागि बिहीबार मनोनयन दर्ता भएको छ ।
रास्वपाले प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोतमा अशोक चौधरी, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकाललाई सभापतिको उम्मेदवार बनाएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितमा रहबर अन्सारी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचनलाई रास्वपाले सभापति पदमा मनोनयन दर्ता गराएको छ ।
प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सांसद रहने संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाले सांसद बोधनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने अर्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्कीलाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुर खड्काको एकल उम्मेदवारी छ ।






