एजेन्सी, २८ चैत । पाकिस्तानमा वार्ता प्रक्रिया अघि बढिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अर्को धम्की दिएका छन् ।
यसअघि सभ्यता विनास गर्ने चेतावनी दिएका ट्रम्पले यसपटक इरानले सम्झौता नगरे आफूले शक्तिशाली बमको प्रयोग गर्ने धम्की दिएका हुन् ।
न्युयोर्क पोस्टसँग टेलिफोन संवादमा ट्रम्पले इरानलाई यस्तो धम्की दिएको बीबीसीले उल्लेख गरेको छ । ”हामी २४ घण्टामा सहमति चाहान्छौँ ।यदि इरान सहमतिमा आएन भने हमलाका लागि हामीले अत्याधुनिक जहाज र शक्तिशाली हतियार तयार पारेका छौँ । इरानलाई सखाप पार्नेगरी त्यसको प्रयोग गर्नेछौँ,” पोस्टसँगको संवाद उद्दृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
सम्झौताबाहेक इरानीसँग कुनै विकल्प नरहेको ट्रम्पले उल्लेख गरेका छन् । ”इरानीहरूसँग अब कुनै पनि विकल्प छैन । उनीहरू जीवित रहेकै सम्झौताका लागि हो,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा उल्लेख गरेका छन् ।
इरानीहरू सम्झौताकै लागि जीवित रहेको ट्रम्पले उल्लेख गरेका छन् । इरानले आफ्नो सहयोगी राष्ट्रको समेत सुरक्षा प्रत्याभूति खोजेको छ । युद्धविरामको अवधिमा इजरायलले लेबनानमाथि भीषण कारबाही गरेसँगै इरानले आफ्ना सहयोगी राष्ट्रको समेत सुरक्षा प्रत्याभूतिको नयाँ सर्त अघि सारेको छ ।
इरानी विदेशमन्त्री अब्बास अघर्चीले युद्धविरामको प्रतिबद्धता इजरायलले पनि पालना गर्नुपर्ने बताएका छन् । वार्ताअघि लेबनानमा समेत युद्धविराम हुनुपर्ने माग उसको छ । यस्तै रोक्का भएका इरानी सम्पत्ति फिर्ता हुनुपर्ने बुँदालाई इरानले अनिवार्य सर्त बनाएको छ । वार्ताका लागि इस्लामाबाद प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक हुनेमा आफू आशावादी रहेको बताएका छन् । ”राष्ट्रपति ट्रम्पको मार्गनिर्देशनअनुसार अमेरिकाले वार्ता गर्नेछ । इरानसँग सम्झौताको विकल्प छ जस्तो मलाई लाग्दैन । आशा छ परिणाम सकारात्मक हुनेछ,” उनले भनेका छन् ।
इरानले पुनर्निर्माणका लागि क्षतिपूर्ति, भविष्यमा कुनै आक्रमण नहुने सुनिश्चितता र आफ्ना सम्पत्तिमाथिका प्रतिबन्धन फुकुवालाई अनिवार्य सर्तमा उल्लेख गरेको छ । अमेरिका र इरानबीच शनिबार इस्लामाबादमा वार्ता हुँदैछ । पाकिस्ताको मध्यस्थतामा इरान र अमेरिकाबीच १५ दिनको युद्धविराम घोषणा भएको थियो ।






