काठमाडौँ, १८ चैत । उपराष्ट्रपति रामसहाय यादव र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राजदूत मनिकरले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उपराष्ट्रपति यादवले महामहिम राजदूतलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रहेको उनले बताए ।
यस्तै उपराष्ट्रपति यादवले नेपाली कामदारका लागि साउदी अरब प्रमुख गन्तव्य रहेको औँल्याउँदै उनीनहरूको हकहितको संरक्षणमा साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गरे ।
भेटमा राजदूत मनिकरले नेपालको विकासमा साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आर्थिक क्षेत्रमा विशेष सहकार्यको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।






