एजेन्सी, १६ चैत । अमेरिका र इजरायलको इरानसँग जारी युद्ध अब ३१औँ दिनमा प्रवेश गरेको छ । यस अवधिमा परिस्थिति अझै पनि तनावपूर्ण बनेको छ ।
यसैबीच इरानले दक्षिणी इजरायलको एउटा केमिकल प्लान्ट (रसायन कारखाना)मा मिसाइल आक्रमण गरेको छ, जसका कारण प्लान्टमा भीषण आगलागी भएको छ । यसबाट उक्त क्षेत्रमा विषाक्त ग्यास चुहावटको खतरा पैदा भएको बताइएको छ । आक्रमणमा एक व्यक्ति घाइते समेत भएका छन् ।
यो आक्रमण बियरशेवा सहरबाट करिब ९ किलोमिटर टाढा रहेको नियोत होवाव औद्योगिक क्षेत्रमा भएको हो । हमलापछि अधिकारीहरूले आसपासका बासिन्दाहरूलाई घरभित्रै रहन र झ्यालहरू बन्द राख्न सल्लाह दिएका छन्, किनकि प्लान्टमा खतरनाक रसायनहरू मौज्दात छन् ।
बताइएअनुसार इरानको उत्तरी क्षेत्रमा रहेको यो कारखानाले तेल र प्राकृतिक ग्यासबाट प्लास्टिक तथा अन्य आवश्यक रसायनहरू बनाउने काम गर्दछ, जुन दैनिक उपभोग्य धेरै सामानहरूमा प्रयोग हुन्छन् । स्थानीय सञ्चार माध्यमका अनुसार, तब्रिज पेट्रोकेमिकलको एउटा प्लान्टलाई निसाना बनाइएको भए पनि अहिलेसम्म कुनै पनि खतरनाक रसायन बाहिर फैलिएको छैन ।







