धादिङ, ४ पौष । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौड्यालले प्रदेश सरकारले गरेका विकास निर्माणका निम्ती गरेका कामहरु केही समयमा नै जनताले देख्ने र अनुभुत गर्न पाउने बताउनुभयो ।
धादिङको सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो विकास र समृद्धिको बाटो समातिसकेको बताउँदै सस्थागत संरचना पनि नभएको सुरुवाती वर्ष कानुन निर्माण र संरचना निर्माणमै अल्मलिनुपरेकाले अव विकास र समृद्धिको लागि खुलेर लागिपर्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले देश विकास र समृद्धिमा पुर्याउन हरेक गाउँ गाउँका युवाहरु उत्पादनसँग जोडि आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक वृद्धिदरलाई बढाउन तथा रोजगारीको सृजना गर्नुपर्ने भन्दै नेपाललाई आधुनिक कृषिको विकास गरी अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले नेपाली युवाहरुले विदेशको विकास र समृद्धि गरेको उल्लेख गर्दै अबका केही वर्षमा युवाहरुले रोजगारीको बहानामा विदेशको मरुभूमिमा गई पसिना बगाउनुपर्ने दिनको अन्त्य हुने समेत बताउनुभयो ।





