काठमाडौँ, २६ फागुन । चर्चित हलिउड पप स्टार रिहानाको घरबाहिर गोली हानिएको छ ।
क्यालिफोर्नियाको बेभर्ली हिल्सस्थित उनको निवासलाई लक्षित गरी आइतबार दिउँसो अन्धाधुन्ध गोली प्रहार भएको हो । यस घटनामा रिहाना पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
लस एन्जलस पुलिसका अनुसार यो घटना आइतबार दिउँसो करिब १ः२१ बजे भएको थियो। रिहानाको घरको गेट अगाडि सडकको अर्को छेउमा रोकिएको एउटा गाडीबाट करिब १० राउन्ड गोली चलाइएको थियो ।
लस एन्जलस टाइम्सको रिपोर्ट अनुसार, एउटा गोली घरको पर्खाल नै वारपार भएको छ। प्रहरीले तत्काल कारबाही गर्दै घटनास्थलबाटै एक ३० वर्षीया महिलालाई पक्राउ गरेको छ । गोली चलेको समय रिहाना आफ्नै घरभित्रै रहेकी थिइन् । घटना लगत्तै उनको सुरक्षा व्यवस्था कडा पारिएको छ । ती महिलाले रिहानालाई नै निशाना बनाएकी हुन् वा यसको पछाडि अन्य कुनै कारण छ भन्नेबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।






