एजेन्सी, २६ फागुन । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा प्रतिनिधिसभा सदस्य चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री रहमानले शुभकामना सन्देशमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्नुभयो । यो चुनावले नेपाली नागरिकको आकाङ्क्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उहाँले उल्लेख गर्नुभएको छ । सन्देशमा बङ्गलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा छ ।
प्रधानमन्त्री रहमानले आउँदा दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । बङ्गलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । आन्दोलनपछि गएको माघमा भएको चुनावमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएपछि बीएनपीका अध्यक्ष रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई फोन गरेर बधाई दिनुभएको थियो ।







